हिमालयन रिइन्स्योरेन्सको लाभांश पारित
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चाैंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाले हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतका दरले हुन आउने ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ । निजी क्षेत्रद्घारा प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एक मात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेस्टबाट बी प्लस रेटिङ पाएको छ । कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ भने विश्वविख्यात पुनर्बीमा कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया तथा हानोइ रिजस्ता ठूला पुनर्बीमा कम्पनीहरुको रेट्रोसेससन प्रोग्राममा समेत हिस्सा लिएको छ । कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्काशन सम्पन्न गरेको थियो । सो सेयर निष्काशन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेस्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी १० अर्बको ४ प्रतिशतका दरले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शेखर गोल्छा रहेका छन् ।
पुँजी बजारको तीव्र वृद्धिसँगै नियामकीय क्षमतामा सुधार गर्दैछौं : सेबोन अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजी बजारको तीव्र विकाससँगै नियामक निकायको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको बताएका छन् । धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष श्रेष्ठले बजार विस्तारको गतिसँगै संस्थागत विकास गर्न जरुरी रहेको बताए । बोर्डको संस्थागत क्षमता विकासमा चुनौती रहेको र त्यसअनुसार सुधारको प्रयास जारी रहेको उनको भनाइ छ । साथै बोर्ड बजारको माग र प्रवृत्तिअनुसार अनुकूल ढंगले काम गरिरहेको उनले बताए । गैर आवासीय नेपाली समुदायलाई पनि पुँजी बजारमा सहभागी गराउने योजनाअनुसार आवश्यक कार्य भइरहेको श्रेष्ठले उल्लेख गरे । लगानी प्रवर्द्धनका लागि बोर्डले अहिलेसम्म ५० अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन स्वीकृत गरिसकेको उनले जानकारी दिए । उनका अनुसार देशलाई ग्रे लिस्टबाट एक वर्षभित्र हटाउने प्रयासमा बोर्डले आफ्नो भूमिकाअनुसार योगदान गरिरहेको छ । भवन अभावका कारण भौतिक पूर्वाधार निर्माणमा केही ढिलाइ भए पनि बोर्डको भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । धितोपत्र बजारमा हुने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्न बोर्डले निरन्तर निगरानी र नियमन कार्य जारी राखेको अध्यक्ष श्रेष्ठले बताए ।
नासा सेक्यूरिटिजको ‘नासा एक्स’ टिएमएस सञ्चालन, ४ लाख लगानीकर्ताले कारोबार गर्न सक्ने
काठमाडौं । ब्रोकर नम्बर ५८, नासा सेक्यूरिटिजले नयाँ टिएमएस प्रणाली ‘नासा एक्स’ को औपचारिक शुभारम्भ गरेको छ । देश–विदेशमा रहेका लाखौं लगानीकर्तालाई छिटो, सुरक्षित र प्रयोगमैत्री सेवा दिने लक्ष्यका साथ यो प्रणाली विकास गरिएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जेठ २५ गते दरबारमार्गस्थित नासा सेक्यूरिटिजको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा नासा एक्स को शुभारम्भ गरे । नवीनतम प्रविधिमा आधारित यो प्रणालीमार्फत चार लाखभन्दा बढी लगानीकर्ताहरूले अनलाइन कारोबार, कोल्याट्रल व्यवस्थापन, रियल टाइम मार्केट अपडेट, ग्राहक अनुकूल ड्यासबोर्ड लगायतका सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन् । नासा एक्सका मुख्य विशेषताहरू – रियल टाइम इन्फर्मेशन ड्यासबोर्ड – एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच – रियल टाइम रकम धितोमा लोड हुने – ग्राहकले आफैँ रकम झिक्न सक्ने सुविधा – केवाइसी, खाता विवरण र ट्रेडिङमा एकल साइन-इन – निःशुल्क ‘ट्रेडिङ स्कूल’ र च्याटबोटमार्फत प्रत्यक्ष प्रतिक्रिया सेवा यससँगै, नासाले नेपालमै पहिलोपटक ‘चार्ट बेस्ड ट्रेडिङ’ सुविधा ल्याउने तयारी पनि थालेको छ । जसबाट लगानीकर्ताले चार्टमै विश्लेषण गरी सिधै खरिद–बिक्री आदेश दिन सक्नेछन् । नासा सेक्यूरिटिजले नासा एक्समार्फत डिजिटाइजेसन, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा नयाँ मापदण्ड स्थापित गर्दै, नेपाली पुँजी बजारमा प्रविधिमैत्री कारोबार संस्कृतिको विकास गर्न सक्ने विश्वास व्यक्त गरेको छ ।