बीबीसीले सटर भाडाबाट उठाउँछ २ करोड ६९ लाख रुपैयाँ

काठमाडौं । सेयरधनीहरूको बदनियतले बर्बाद बनिरहेको विशाल बजार कम्पनी (बीबीसी)ले सटर भाडाबाट मासिक साढे २ करोडभन्दा बढी रकम आम्दानी गर्दै आएको देखिन्छ । कम्पनी उपलब्ध गराएको तथ्याङ्क अनुसार पसलकवलबाट मासिक २ करोड ६९ लाख ३८ हजार रुपैयाँ भाडा रकम संकलन गर्दै आएको हो ।  ८ रोपनी क्षेत्रफलमा रहेको तीन तले भवनमा झण्डै ४ सय वटा पसलकवलहरू छन् । ती सटर भाडामा लगाएर कम्पनीले मासिक सो रकम असुल गर्दै आएको हो । कम्पनीका अनुसार भूँइ तलामा ५५ भन्दा बढी पसलकवल भाडामा लगाइएका छन् । भूँइ तलामा रहेका पसल कवलबाट कम्पनीले मासिक ३७ लाख ८ हजार रुपैयाँ आम्दानी गरिरहेको छ । भूँइ तलामा कम्पनीलाई गणपति ज्वेलर्स नेपाल प्रालिले सबैभन्दा धेरै भाडा रकम बुझाउँदै आएको देखिन्छ । कम्पनीले मासिक १५ लाख ६० हजार रुपैयाँ भाडा बुझाउँदै आएको देखिन्छ । ३ हजार ५४० वर्गफिट क्षेत्रफल ओगटेको कम्पनीको पसल नम्बर ५० हो । कम्पनीको पहिलो तलामा रहेका पसलकवलबाट मासिक १ करोड ५ लाख ७३ हजार रुपैयाँ आम्दानी गरिरहेको तथ्याङ्कले देखाउँछ । ३५ भन्दा बढी सटर रहेको पहिलो तलामा पसलदेखि वाणिज्य बैंकका शाखा समेत सञ्चालनमा छन् । पहिलो तलामा हिमालयन बैंक, एनआईसी एशिया बैंकका शाखा सञ्चालनमा छन् । हिमालयन बैंकले भाडा रकमबापत कम्पनीलाई ३९ लाख ९० हजार रुपैयाँ र एनआईसी एशिया बैंकले ८ लाख १४ हजार रुपैयाँ मासिक भाडा भुक्तानी गरिरहेका छन् ।  यस्तै, दोस्रो तलामा करिब १ सयभन्दा बढी पसलकवलमा पसल सञ्चालनमा छन् । दोस्रो तलामा कम्पनीले मासिक १० लाख ६५ हजार रुपैयाँ भाडा आम्दानी गरिरहेको छ । यस्तै, तेस्रो तलामा रहेका पसलकवलबाट मासिक ९ लाख ४६ हजार रुपैयाँ भाडा उठाउँदै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उत्तरतर्फका टहरा (जमिन तल्ला)बाट मासिक १५ लाख ३६ हजार रुपैयाँ र दक्षिणतर्फ टहरा (जमिन तल्ला)बाट ५१ लाख ७२ हजार रुपैयाँ आम्दानी गरिरहेको छ । साथै, कम्पनीले पार्किङको भाडा बापत मासिक ३७ लाख ३५ हजार रुपैयाँ र करारमा भाडामा लागेका पसलकवलबाट १ लाख ९९ हजार रुपैयाँ मासिक आम्दानी गरिरहेको जनाएको छ ।  विशाल बजार कम्पनीका प्रबन्ध निर्देशक (एमडी) गोरख बहादुर शाही कम्पनीभित्र सेयरधनी व्यवसायी बिचौलिया बनेर लाखौं कमाइरहेको बताउँछन् । सेयरधनीहरू आफैले विशाल बजारमा पसल नराखी अर्कैलाई भाडामा लगाएर उनीहरूबाट कमिसन लिने गरेको उनले आरोप लगाए । व्यवसायीको सहजताको लागि भन्दै सस्तो भाडा दर तोकेपनि सेयरधनीहरूले भने अर्कै व्यवसायीलाई भाडामा दिएर ठूलो रकम असुल्ने गरेको उनको भनाइ छ ।  ‘सेयरधनीले सटर राखेका व्यवसायीबाट ठूलो रकम उठाएर कम्पनीलाई थोरै मात्रै तिर्ने गरेका छन् । कम्पनीले पाउनु पर्ने अधिकांश भाडा रकम बिचमै हराउँछ । पसल भएका अधिकांश सेयरधनीहरू आफू व्यापार गर्दैनन् । उनीहरू अन्य कुनै व्यापारीलाई कम्पनीको पसल भाडामा लगाउँछन्,’ उनले भने ‘सम्झौताका हिसाबले जसको नाममा पसल र सेयर छ, उनीहरू व्यापार गर्दैनन् । अर्कै मान्छेलाई पसल चलाउन दिइरहेका छन् । कम्पनीको भाडादरभन्दा बढी मूल्य तोकेर उनीहरु भाडामा लगाउँछन् । सेयरधनीहरू नै बिचौलिया बनेर व्यवसायीहरूबाट गैरकानूनी ढंगबाट अतिरिक्त रकम लिइरहेका छन् ।’  वास्तविक व्यवसायीले अधिकतम् भाडा रकम तिर्नु परेको उनले बताए । साथै विचौलिया सेयरधनीहरूले उठाइरहेको भाडा रकम करको दायरामा नआएको उनले बताए । कम्पनीको आम्दानी घटाउन गैरकानूनी कामले बढावा दिइरहेको उनले बताए ।  शाहीका अनुसार सेयरधनीरूले पसलको भाडाबापत कम्पनीलाई ५०÷६० हजार रुपैयाँ तिर्छन् । तर, व्यवसायीहरूबाट भने १० गुणा बढी भाडा लिने गरेको गुनासो कम्पनीमा आएको छ । यदि सेयरधनीसँगको सम्झौता खारेज भए कम्पनीको नाफा तीन गुणा बढ्ने उनले दाबी गरे । हाल कम्पनीले वार्षिक २५ करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको छ । उक्त सम्झौता खारेज हुँदा हालको आम्दानी बढेर ६०/७० करोड रुपैयाँ पुग्ने अनुमान उनको छ । ‘कम्पनीले २०/२५ करोड रुपैयाँ कमाउँछ भने सेयरधनीहरूले ५० करोड कमाउँछन् । उक्त प्रस्ताव पारित भएपछि सेयरधनीहरूको बिना मिहिनेतको ५० करोड रुपैयाँ गुम्दैछ । यो रकम गुम्ने त्रासले मुद्धा मामिला भइरहेको छ,’ उनले भने, ‘प्रतिस्पर्धाबाट लागेका पसलबाहेकको भाडा रकम न्यून छ ।’  

टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने, पुँजी ४६ करोड पुर्याउने

काठमाडौं । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभा २०८२ बैशाख ११ गते उद्योग परिसर गैडाकोटमा दिउसो साढे १२ बजे बोलाएको छ । सभामा आईपीओ निष्काशनबाट प्राप्त रकम प्रयोग सम्बन्धि छलफल गरिनेछ । कम्पनीको जारी पुँजी ४२ करोड ९१ लाख ११ हजार रुपैयाँबाट ४६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको जारी पुँजीमध्ये ७९.३४ प्रतिशत संस्थापक समूह र २०.६५ प्रतिशत सर्वसाधारण सेयरधनी समूहको कायम गर्नेछ । यस्तै, १ जना महिला संचालक सहित संस्थापक समूहबाट ५, सर्वसाधारण समूहबाट १ र स्वतन्त्र सञ्चालक १ जना गरी कुल ७ जनाको सञ्चालक समिति बनाउने र सोही बमोजिम नियमावली संसोधन गर्नेछ ।  

नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुनः चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो ।