साउन १ गतेदेखि आस्वा प्रणाली अनिवार्य, सेयर निष्काशनको २० दिनमै बाँडफाँट हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरिएको छ । उक्त प्रणाली लागूसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँट प्रक्रिया २० दिन सम्ममा सम्पन्न हुने बोर्डले जनाएको छ । जुन हालको भन्दा ५० दिन चाँडो हुनेका साथै थप सरल, व्यवस्थित र पारदर्शी हुने बोर्डको विश्वास रहेको छ । सो निर्णय लागू गर्न बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्यहरुलाई आफ्नो मुख्य कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरुलाई तालिम प्रदान गर्न बोर्डले आग्रह गरेको छ । साथै आस्वा सेवा प्रदान सम्वन्धमा बोर्डबाट स्थलगत निरीक्षण कार्य भैरहेको र सो क्रममा कुनै त्रुटी भेटिएमा त्यस्ता आस्वा सदस्यहरुको अनुमति खारेज गरिने वा सो सेवा प्रदान गर्न रोेक लगाइने छ । आश्वा प्रणालीमा हालसम्म सम्पूर्ण वाणिज्य वैंकहरु सहित ५२ बैंक तथा वित्तीय संस्थाहरु सहभागी भई ७५ जिल्लाबाटै सेवा प्रदान गर्न थालिसकेका छन् । यस प्रणालीमार्फत हालसम्म ७ वटा संगठित संस्थाहरुको सार्वजनिक निष्काशन भैसकेकोमा पछिल्लो थप सार्वजनिक निष्काशनमा करीब ६४ प्रतिशतभन्दा बढी दरखास्त रकम आस्वा प्रणाली मार्फत प्राप्त भई यो प्रणालीको कार्यान्वयनमा गतिशीलता आएको छ । आस्वा प्रणालीमा सहभागी केही बैंक तथा वित्तीय संस्थाहरुले अनलाइनमार्फत समेत दरखास्त लिने व्यवस्था गर्न शुरु गरिसकेका छन् । हाल आस्वा प्रणालीमा प्रतिदरखास्त बढीमा १०० रुपैयाँ सम्ममात्र शुल्क लिन सक्ने व्यवस्था गरेको छ । गरे पश्चात केही बैंक तथा वित्तीय संस्थाहरुले सेवालार्इ निशुल्क एवं अधिकांश संस्थाहरुले सेवा शूल्क रु. १०/२५ कायम गरेका छन् ।
हिमालय उर्जा विकासले २४ करोड ७५ लाख रुपैयाँको साधारण शेयर निष्काशन गर्ने
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लि.ले १०० रुपैयाँ दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले निर्माण गरिरहेको उपल्लो र अप्पर खिम्ती-२ जलविद्युत आयोजनाको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । १२ र ७ मेगावाटको दुई आयोजनाका १०० रुपैयाँ दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर बिक्रीको लागि हिमालय उर्जा विकास कम्पनी लि. र निष्काशन तथा बिक्री प्रबन्धक बीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष हरिप्रसाद पाण्डे र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता शेयर जारी गर्नेछ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । हिमालय उर्जा विकास कम्पनीले २०७५ अषाढमा उपल्लो खिम्ती र २०७५ असोजमा अप्पर खिम्तीबाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ । हाल यी आयोजनाको सिभिल र हाईड्रो मेकानिकलको कार्य भईरहेको छ भने इलेक्ट्रो मेकानिकलको लागि जापानको तोसिबा कम्पनीसँग सम्झौता भएको छ ।
भिवोर सोसाइटीमा लुम्बिनी फाईनान्स गाभिने प्रस्ताव पारित, पूँजी २ अर्ब ३७ करोड नाघ्ने
काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड गाभिने प्रस्ताव पारित भएको छ । बिहीबार बसेको बैंकको नवौं वार्षिक साधारण सभाले उक्त दुई कम्पनी एक आपसमा गाभिने प्रस्तावलाई पारित गरेको हो । दुई कम्पनी गाभिए पश्चात लुम्बिनी बिकास बैक नामबाट एकिकृत कारोबार शुरु हुने भएको छ । गाभिए पश्चात बन्ने लुम्बिनी बिकास बैकको पूँजी २ अर्ब ३७ करोड १८ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । साथै, सभाले गाभिए पश्चात कायम हुने चुक्ता पूँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । हाल बैंकको कुलनिक्षेप १५ अर्व ६ करोड रुपैयाँ र कर्जा १३ अर्व ५६ करोड रुपैयाँ रहेको छ । साथै, बैंकले आर्थिक वर्षको तेश्रो क्रैमास सम्ममा २२ करोड खुद मुनाफा गर्न सफल भएको जनाएको छ । त्यसैगरी, बैकका ४४ शाखा र १२ ओटा एटीएम रहेका छन् । डिल्लीबजारमा केन्द्रिय कार्यालय रहेको बिकास बैंकको संचालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनाल रहेका छन् । यसैगरी संचालक समितिका सदस्यमा अशोकराज पाण्डे, डा. रुप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारी रेहेका छन् ।