स्थानीय बासिन्दाले श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।  उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।

निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पूँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ । सूचनामा भनिएको छ, ‘चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ‘

कर्फ्यु लागेका क्षेत्रमा बैंक नखुल्ने, आज सेयर कारोबार पनि नहुने

काठमाडौं । काठमाडौंको उपत्यकाका तीन जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेपछि बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बन्द हुने भएका छन् । काठमाडौं, ललितपुर, रभक्तपुर जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने भएका हुन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको छ । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानले जानकारी दिए । उनका अनुसार कर्फ्यु लागेका क्षेत्रमा बैंकको डिजिटल सिस्टममा काम गर्ने कर्मचारीहरू भने बैंकमा गएर आन्तरिक रुपमा काम गर्न सक्नेछन् ।  ‘सकेसम्म कर्फ्यु लागेको क्षेत्रमा शाखा, एटीएममा कर्मचारीहरू नजान नै भनिएको छ । कहिलेकाहीँ अत्यावश्यक परेको छ भने स्थानीय प्रशासनको समन्वयमा जान सकिन्छ । सकेमसम्म नजाने नै हो,’ उनले भने ।  राष्ट्र बैंकको पनि अत्यावश्यक पेमेन्ट सिस्टम राष्ट्रियस्तरमा चल्ने भएकाले आईटी, पेमेन्टको काम भने सुचारु हुने उनले बताए ।  ‘कफ्र्यु लागेको क्षेत्रमा आवतजावत नै बन्द गरेपछि नखुल्ने हो । तर, बैंक तथा वित्तीय संस्थाको केन्द्रीकरण भएको हुँदा आन्तरिक रुपमा डिजिटलको काम भने चल्छ,’ उनले भने ।   साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार पनि नहुने भएको छ । नेप्सेका सहायक प्रबन्धक निरन्जय फुयालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र कर्फ्यु जारी गरेको तथा धेरै कारोबार सदस्य, लगानीकर्ताहरुले कारोबार स्थगन गर्न अनुरोध भएको हुँदा सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज भदौ २४ गतेको सम्पूर्ण सेयर कारोबार स्थगन गरिएको छ  कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनका अनुसार कर्फ्यु को आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ । नेपाल धितोपत्र बोर्डको कार्यालय भने खुला रहने जनाएको छ ।