नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज ३१ गते ३४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभामा बोनस सेयरको कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ  । साथै, २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरी प्राप्त रकम उपयोग गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । साथै सर्वसाधारण सेयरधनी तर्फबाट सञ्चालक नियुक्त गर्नेजस्ता एजेन्डा समेत पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

१८ प्रतिशत लाभांश बाँड्ने मुक्तिनाथ विकास बैंकको घोषणा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।  

सागर डिष्टिलरीको आईपीओ खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरुले असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।