बजार १७ अंकले घट्दा एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजार नीति ल्याउने दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजीबजारलाई लगानीको विश्वसनीय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिए पनि सेयर बजार बढ्न सकेन । सोमबारको बजारमा १७ दशमलब ९६ अंकको गिरावट आएको छ । सो दिनको नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर १२०६ अंकमा झरेको छ । परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । कुल १६७ कारोबार भएको बजारमा ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लाे दिनकाे तुलनामा ७ कराेड रूपैयाँ घटी हाे । अघिल्लाे दिनकाे बजारमा कूल ४८ कराेड रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे थियाे । परिसूचक दोहोरो अंकले ओरालो लागेको दिन पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सोमबार बीमा समूह उच्च अंक १३० ले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र ट्रडिङ समूह बाहेक कारोबारमा आएका सबै समूहको सूचकहरु राताम्मे छन् ।
प्रोग्रेशिभ फाइनान्सको बुक क्लोज साउन २३ गते, २८१ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको आगामी साउन २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । असार २२ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले गत आवमा सम्पन्न विशेष साधारणसभाबाट पारित भए बमोजिमको सेयर निष्काशन गर्न लागेको बताएको छ । हाल संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ ।
सोमबार पूँजीबजार नीति आउने, जलविद्युत कम्पनीको नियमनमा कडाई र प्रिमियम मूल्य निर्धारणमा नयाँ विधि
काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार २५ गते पुँजी बजार नीति सार्वजनिक गर्दैछ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजी बजारलाई लगानीको विश्वसनिय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिएको श्रोतले बतायो । धितोपत्र बोर्ड उच्च श्रोतका अनुसार बैंक तथा वित्तिय क्षेत्र र बीमा कम्पनी बाहेकका अन्य क्षेत्रहरुको नियमनका लागि पनि पुँजी बजार नीतिमा कडा व्यवस्था अघि सारिँदैछ । मुलतः जलविद्युत कम्पनीहरु तथा उत्पादन मुलक अन्य कम्पनीहरुको नियमनमा बिशेष कडाई गर्ने योजना पुँजी बजार नीतिमा समेटिएको छ । त्यस्तै, आईपीओको प्रीमियम मूल्य तथा एफपीओको मूल्य निर्धारणका लागि आगामी आर्थिक बर्षभित्रै बुक बिल्डिङको नियम लागु गर्ने योजना पनि समेटिएको छ । ‘प्राथमिक र दोश्रो बजारलाई देश व्यापी बनाउने, लगानीकर्ताको मनोबल बढाउने पुँजी बजारलाई लगानीको विश्वासिलो बिकल्पका रुपमा स्थापित गराउने योजना आउँछ ।’, धितोपत्र बोर्ड श्रोतले भन्यो । सोमबार सार्वजनिक हुने पुँजी बजार नीतिलाई धितोपत्र बोर्डको सञ्चालक समितिले अनुमोदन समेत गरिसकेको छ ।