गुहेश्वरी मर्चेण्ट बैंकिङले १० करोड ९१ लाख रुपैयाँ बोनस दिने
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई १० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस दिन लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख रुपैयाँ रहेको छ । उक्त बोनस पश्चात कम्पनीको पुँजी करिब ८० करोड नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँ रहेको छ ।
राधी विद्युतको आईपीओ भर्न आज अन्तिम दिन
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आज बिहीबारसम्म मात्र आवेदन लिने भएको छ । बढी आवेदन परेपछि बिहीबार बैकिङ समयसम्म मात्र आईपीओका लागि दरखास्त लिन बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । राधिको आईपीओ गत सोमबारदेखि बिक्री खुला हुने भएको हो । राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो । ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ । गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको संचित कोषमा २९ करोड ८४ लाख रुपैयाँ छ ।
बुधबारको सेयर बजारमा उतारचढाव, नेप्से ९ अंकले घट्दा ४२ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा उतारचढाव आएको छ । बजार खुल्दा १४९३ अंकमा रहेको नेप्से करिब एक घण्टामा १० अंकले ओरालो लागेर १४८३ अंकमा पुगेको थियो । त्यस पछि फेरि एक घण्टाको अवधिमा ९ अंकले बढेर १४९२ अंकमा पुगेको नेप्से पछि पुन ओरालो लागेको छ । अन्ततः बजार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा ९.२९ अंकले झरेर १४८४ अंकमा आइपुगेको छ । बजारमा नेप्से सहित कारोबार रकममा पनि गिरावट आएको छ । बुधबारको बजारमा कुल १५५ कम्पनीको ४२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन जम्मा ९ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको जस्तै बुधबार पनि सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४३ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ३१ र २६ अंकले झरेका छन् ।