बैंकहरूले व्याज बढाएपछि सेयर बजारमा पहिरो, नेप्से परिसूचक २२ अंकले घट्यो

काठमाडौं । बैंकहरूले निक्षेपकाे व्याज बढाएपछि सेयर बजार उच्च अंकले घटेकाे छ । बुधबार नेप्से परिसूचक २२.८० अंकले ओरालो लागेको छ । मुद्दति खातामा यसअघि १० प्रतिशत व्याज दिदै अाएका बैंकहरूले बुधबार १२.५ प्रतिशसम्म व्याज प्रस्तावसहितकाे व्यवसायिक याेजना सार्वजनिक गरेका थिए । करिव दुर्इ सातादेखि निरन्तर घट्दै अाएकाे सेयर बजार मंगलबार दोहोरो अंकले बढेको थियाे । खासगरी स्थानीय तहले बैंकमा राखेकाे निक्षेप मध्ये ५० प्रतिशत प्रयाेग गर्न पाउने सरकारी निर्णयले मंगलबार बजारमा सकारात्मक प्रभाव पारेकाे थियाे । तर बुधबार फेरि सेयर बजारकाे लागि परिस्थिति प्रतिकूल बनेकाे छ । भारी अंकले घटेको बजारमा कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १८५ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक ९६ अंकले ओरालो लागेको छ । फाइनान्स समूह २.४ अंकले घटेको छ भने बाँकी समूहहरु दोहोरो अंकले राताम्मे भएका छन् । बुधबार सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ६.८९६ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेर १६२ रुपैयाँमा झरेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ प्रतिशतले घटेको छ । बजारमा कुल १५६ कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बोनसपछि एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३७१.८२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१८.४१ रुपैयाँ रहेको थियो ।

सेयर बजार दोहोरो अंकले बढ्यो, लक्ष्मी लघुवित्तका सेयरधनीले कमाए ९ प्रतिशत बढी

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखि नै उकालो लागिरहेको बजारमा नेप्से परिसूचक १०.२७ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ०.९१ प्रतिशतले बढेर ११४२.०१ अंकमा पुगेको छ । सो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएता पनि कारोबार रकममा भने गिरावट भएको छ । सोमबार ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ३८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँ घटी हो । मंगलबार कुल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम र कित्ता दुबैको आधारमा नेपाल बैंकको बढी कारोबार भएको छ । बैंकको ३ लाख ८९ हजार ४६९ कित्ता सेयर ११ करोड ४२ लाख रुपैयाँमा किनबेच भएको छ । केहि दिनदेखि यस बैंकको सेयर कारोबारमा सुधार हुँदै आइरहेको छ । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले एकैदिन ९.९७ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ७६१ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनीलाई २६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांशलाई आगामी पुस १ गते बस्ने वार्षिक साधारणसभाले पारित गर्ने छ । सो प्रयोजनको लागि संस्थाको मंसिर १९ अर्थात भोलिदेखि बुक क्लोज हुँदै छ । त्यसैले लगानीकर्ताहरु यस संस्थाको सेयरमा आकर्षित भएका जानकारहरु बताउँछन् । त्यसपछि ग्लोबल आईएमई बैंकको ३ करोढ ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस दिने निर्णय घोषणा गरेपछि संस्थाको कारोबार रकम र सेयर मूल्य दुबैमा वृद्धि भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३१७ रुपैयाँमा पुगेको छ । बजारमा सबैभन्दा बढी विकास बैंकको समूह उकालो लागेको छ । विकास बैंकको सूचक ३२, निर्जीवन बीमा २०.०१, अन्य समूह १८ र जीवन बीमा १५ अंकले बढेका छन् । दुई समूह होटल र ट्रेडिङ बाहेक बाँकी समूह सामान्य अंकले बढेका छन् । होटल र ट्रेडिङ समूह क्रमशः ३.८१ र ०.५१ अंकले घटेका छन् ।