त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस, प्रधानमन्त्रीले छान्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीलाई बुझाएको छ । तर सिफारिस भएका ३ जनाको नाम सार्वजनिक गरिएको छैन । उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा रहेकामा प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको चर्चा बढी भएको छ । केसरजङ्ग बरालले राजीनामा दिएपछि रिक्त उपकुलपति पदमा प्रधानमन्त्रीले चाँडै निर्णय गर्ने बताइएको छ ।
दियालो बङ्गलाको ६३ हजारभन्दा बढीले गरे अवलोकन, ५३ लाखभन्दा बढी आम्दानी
चितवन । एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गलामा ६३ हजार ४४८ जनाले अवलोकन गरेका छन् । जसबाट ५३ लाख १६ हजार ८५० राजस्व सङ्कलन भएको जनाइएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार भरतपुर महानगरपालिकाले व्यवस्थापनमा सर्वसाधारणका लागि खुला गरिएको हो । दरबार प्रवेशका लागि सर्वसाधारण नेपालीलाई १०० तथा ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकका लागि १५०, अन्य सार्क राष्ट्रका पर्यटकका लागि २०० र सार्कबाहेकका मुलुकका पर्यटकका लागि ३०० शुल्क निर्धारण गरिएको छ । सङ्कलित राजस्वमध्ये ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत महानगरपालिकाले पाउने गरी सम्झौता गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दियालो बङ्गला सर्वसाधारणलाई खुला गर्दै गर्दा ट्रष्ट र महानगरपालिका मिलेर भौतिक पूर्वाधारका काम गरिएको बताइन् । महानगरपालिकाले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला सञ्चालनमा ल्याउन पहल गरेको थियो । प्रमुख दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ अध्ययन तथा घुम्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताइन् । तत्कालीन समयमा जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए । यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ पनि हो । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा तत्कालीन राजाहरु महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ भने बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । एक नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नंम्बर राजा र ३ नंम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले जस्ताको तस्तै राखिएको छ । दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्भ्याउन दियालो बङ्गला सहयोगी भएको बताए । चितवन हुँदै राजधानी भित्रिने र बाहिरने एवं जिल्ला हुँदै यात्रा गर्ने जो कोहीका लागि सहज पर्यटकीय गन्तव्य दियालो बङ्गला बनेको अधिकारीको भनाइ छ । रासस
देशभरका अस्पतालमा सेवा ठप्प, बिरामी अलपत्र
काठमाडौं । साेमबार देशभरका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका छन् । अस्पताल तथा चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले केही अस्पताल तथा चिकित्सकलाई जरिवाना फैसाला गरेकोमा असन्तुष्टी जनाउँदै चिकित्सकहरूले आन्दोलन गरेका हुन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक चरणबद्ध आन्दोलनमा उत्रेका हुन् । संघको घोषित कार्यक्रम अन्तरगत असार २२ गते आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिएका थिए । साेमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने र चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय बुझाउने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ । बिरामी मर्कामा अस्पतालमा ओपीडीसेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । दैनिक ६ सयभन्दा बढी बिरामी उपचारका लागी पुग्ने वीर अस्पताल ठप्प हुँदा बिरामीहरू मर्कामा परेका छन् । टिकट काउन्टर नै बन्द हुँदा बिरामीहरू आएर गेटबाटै फर्किन थालेको अस्पतालका सूचना अधिकारी सिताराम खड्काले बताए । उनले भने, ‘चिकित्सकहरू सबै आन्दोलनमा छन्, उपचार गर्नेहरू नै नआएपछि बिरामीलाई सेवादिने कुरै भएन ।’ वीरमा ओपीडी बाहेक अन्य आकस्मिक सेवा भने सुचारु रहेका छन् । उता शिक्षण अस्पताल महाराजगञ्जमा पनि आकस्मिक बाहेकका सबै सेवा ठप्प रहेका छन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले ओपीडीसेवा बिहानैदेखि ठप्प रहेको बताए । उपभोक्ता अदालतको आदेशले चिकित्सकहरू मानसिक र शारीरिक रुपमा उपचार गर्न सक्षम नरहेको भन्दै उपस्थित् नहुँदा उपचारसेवा ठप्प भएको उनले बताए । रोस्यारले ओपीडीसेवा बन्द हुँदा दैनिक २ हजार ५ सय भन्दा बढी सख्यामा अस्पताल पुग्ने बिरामीलाई मार परेको बताएका छन् । यी बाहेक अन्यसबै सरकारी र निजी अस्पतालको सेवा पनि आज ठप्प रहेको छ।