३५ वर्षपछि पर्वत प्रदेश अस्पतालमा विशेषज्ञ सेवा सुरू
पर्वत । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ । सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ श्ययाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा विशेषज्ञबाट सेवा दिन सुरू भएको हो । पन्ध्र श्ययाको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति थप गरेर ६४ श्यया अस्पतालको सेवा दिइरहेको अस्पतालले अब भने हाडजोर्नी, बाल रोग र स्त्री रोग विशेषज्ञबाट सेवा दिन सुरू गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए । अस्पतालको स्तरोन्नति भएकै कारण प्रदेश सरकारबाट दरबन्दी थप नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक स्रोत र नेपाल सरकारको छात्रवृत्ति कोटाबाट विशेषज्ञ सेवा दिन सुरू गरिएको उनले बताए । प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिको निर्णय गरिसकेको अवस्थामा सोहीअनुसारका जनशक्ति थप गर्नका लागि केही समय लाग्ने छ तर अस्पतालले भने सेवाग्राहीको मागलाई ध्यानमा राख्दै अस्पतालको स्रोतबाट समेत विशेषज्ञ नियुक्त गरेर सेवा दिन सुरू गरेको हो । अस्पतालमा रहेको पोषण कार्यक्रमअन्तर्गत अस्पतालको स्रोतबाट बेहोर्ने गरी बालरोग विशेषज्ञको रूपमा डा प्रकाश गौतमले अब ओपिडीबाट सेवा दिने भएका छन् । यस्तै हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रूपमा डा ढुण्डीराज पौडेलले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए । डा पौडेलको दरबन्दी प्रदेश अस्पताल पर्वतमा नै रहेको भए पनि उनी अध्ययनका लागि गएका थिए ।स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा डा. प्रियसा अधिकारी र एनेस्थेसियालोजिस्टको रूपमा डा बालकृष्ण श्रेष्ठ छात्रवृत्तिमा आएसँगै अब अस्पतालले विस्तारित रूपमा विशेषज्ञ सेवा दिन सुरू गरेको हो । छात्रवृत्तिमा आएका चिकित्सकले कम्तीमा पनि अबको दुई वर्ष सेवा गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम विकले बताए । 'उहाँहरू सबै जना एमडी सकेर विशेषज्ञ सेवा दिनका लागि यहाँ आइपुग्नुभएको छ । हामीले अहिलेसम्म प्रवाह गर्दै आएको सेवा झनै प्रभावकारी र विशेषज्ञबाट दिन सकिने भएको छ', डा बास्तोलाले भने, ‘यसरी विशेषज्ञ सेवा दिन सुरू गरेको यो नै पहिलो हो ।’ ‘अब महिलाको जटिल खालको शल्यक्रिया गर्नका लागि बेहोस बनाउने डाक्टर हुनुहुन्न भनेर रोकिनुपर्ने अवस्था रहेन । क्रिटिकल केसमा पनि हामीले काम गर्न सक्ने भएका छौँ’ उनले भने । छात्रवृत्तिमा आएका चिकित्सकको अवधि दुई वर्षको हुने बताउँदै उनले उनीहरू फर्किने अवस्था आएको बेलामा प्रदेश अस्पताल समेत स्तरोन्नति भएको अस्पतालका रूपमा जनशक्ति उपलब्ध गराउने बताए । अब केही दिनमा नै गण्डकी प्रदेश सरकारले हाडजोर्नीको उपचारको लागि नयाँ उपकरण उपलब्ध गराउन लागेकाले पनि अब पर्वतसहित आसपासको क्षेत्रका बिरामीलाई हाड जोर्नीका चिकित्सक खोज्दै पोखरा वा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हट्ने डा बास्तोलाको भनाइ छ । सरकारबाट प्राप्त भएका र अस्पताल आफैँले व्यवस्थापन गरेका गरी कूल ११० जना जनशक्तिबाट सञ्चालनमा रहेको अस्पतालमा अब भने कम्तीमा पनि १४–१५ जना विशेषज्ञ चिकित्सक रहने अस्पतालका निवर्तमान अध्यक्ष शङ्कर गिरीले बताए । केही वर्ष अगाडिसम्म दैनिक करिब ४०–४५ जना बिरामीलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले भने दैनिक करिब ३०० भन्दा बढी बिरामीलाई सेवा दिन सकिएको उनको भनाइ छ । रासस
नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले नन्ग्रेडेड माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न सम्बन्ध भएका विद्यालयका प्रमुखलाई आग्रह गरेकी हुन् । गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नन्ग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन्। यसकारण नेतृत्वको खोजी भएको हो । उनले भनिन्,‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नन्ग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’ छलफलमा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसइईको नतिजा राम्रो नभएको धारणा राखे । छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाए । उनीहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गरे । विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कामपाबाट ५८ वटा सामुदायिक विद्यालयबाट चार हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये नाै सय ५६ जना (नन्ग्रेडेड)ले पुन परीक्षा दिनुपर्ने भएको छ । उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् ।
नेपालमै करिअर बनाउन ह्वाइट हाउसको काउन्सिलिङ
काठमाडौं । हिमालयन ह्वाइट हाउसले तीन दिने करिअर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई केन्द्रित गर्दै यो कार्यक्रमको आयोजना गरिएको हो । प्लस टु पास गरिसकेपछि नेपाली युवाको लर्को विदेशतिर लागिरहेको अवस्थामा विद्यार्थीलाई नेपालमै रोक्नको लागि कलेजले कार्यक्रम गरेको जनाएको छ । पुतलीसडकस्थित कलेज प्रांगणमा शुक्रबारबाट सुरु भएको कार्यक्रममा विद्यार्थीले आफ्नो रुचि तथा योग्यताका आधारमा सही करिअर कसरी छनोट गर्न सकिन्छ भन्नेबारे ब्याचलर्समा अध्ययनरत विद्यार्थीहरूले काउन्सिलिङ गरिरहेका छन् । विद्यार्थीहरूको रुचि क्षमताको मूल्यांकन गर्दै उपयुक्त शैक्षिक क्षेत्र वा पेशा कसरी रोज्ने भन्नेबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्रधानाध्यापक तोयानारायण पौडेलले बताए । ‘अहिले नेपालमा ब्याचलर तहको शिक्षा कस्तो छ भन्ने सबैलाई थाहा छ,’ उनी भन्छन्, ‘कमसेकम १२ कक्षा सकेर विदेश जाने विद्यार्थीमात्रै नेपालमै रोक्न सक्ने हो भने विद्यार्थीहरू लागि पनि राम्रो र देशका लागि पनि फाइदा हुन्छ, तर योतिर ध्यान कसैको गएको पाइँदैन ।’ हिमालयन ह्वाइट हाउसले विदेशमा ५०/६० लाखमा पढाइ हुने कोर्स नेपालमा ७/८ लाखमा गर्न सक्ने भन्दै विद्यार्थीहरूलाई उत्प्रेरणा दिन काउन्सिलिङ गरिरहेको छ । कार्यक्रममा नेपालभित्र पढाइ हुने विषय, अवसरका विषयमा विद्यार्थीलाई काउन्सिलिङ गरिरहेको छ । कार्यक्रममा उपत्यका भित्रका र बाहिरका विभिन्न कलेजका विद्यार्थीको सहभागिता रहेको छ । पहिलो दिन के गरियो ? कार्यक्रमको पहिलो दिन करिअर काउन्सिलसँगै फुड फेस्ट र म्युजिकल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न स्टल राखेर बरिस्टा, किचन कुकिङ, बार लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सिकेको कुरालाई कसरी प्रयोग ल्याउने भन्नेबारे समेत उनीहरूलाई सिकाइयो । सिकेका आधारमा प्रतिस्पर्धा गराइ उत्कृष्ट समूहलाई प्रमाणपत्रसमेत दिइएको छ । सँगै डान्स कार्यक्रम पनि गरिएको थियो । पहिलो दिन ६ सयभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागी भएको कलेजले जनाएको छ । ‘विद्यार्थीहरूका लागि यस्ता कार्यक्रमको निकै महत्व छ, उनीहरूले कक्षाकोठा भित्रको भन्दा राम्रो सिक्छन्,’ कलेजका प्रधानाध्यापक तोयानारायण पौडेलले भने । शनिबार इन्जिनियर र मेडिकलमा जाने रुचि भएका विद्यार्थीलाई काउन्सिलिङ गर्ने जनाइएको छ । कुन विषय पढ्दा यसको फाइदा स्वदेशमा कस्तो छ र विदेशको हकमा कस्तो छ भन्ने सिकाइने भएको छ । कार्यक्रममा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ इन म्यानेजमेन्टमा सञ्चालित १२ वटा फरक–फरक कार्यक्रमको बारेमा विद्यार्थीलाई जानकारी दिएको छ । जहाँ बीएचएम, बीबीए, बीआइटी सिभिल इन्जिनियरिङ, बायोटेक, बायोमेडिकल लगायतका कार्यक्रम सञ्चालनमा छन् । प्लस टु पास भएका विद्यार्थीलाई यी विषयमा जानकारी दिइ रुचिअनुसार विषय छनोट गर्न सल्लाह दिइरहेको प्रधानाध्यापक पौडेलले भने । खुसी विद्यार्थी बझाङकी प्रियंका बोहोरा तीनकुनेमा रहेको पेन्टागन इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययन गर्छिन् । अहिले उनी परीक्षा दिएर नतिजाको पर्खाइमा छिन् । फुर्सदको समयमा उनी शुक्रबार हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले आयोजना गरेको कार्यक्रममा आएकी थिइन् । पहिलो पटक ‘द राइजिङ लिडर’ कार्यक्रममा सहभागी भएकी प्रियंका यस्ता कार्यक्रम विद्यार्थीको लागि निकै आवश्क रहेको बताउँछिन् । किताबी ज्ञानभन्दा दैनिक जीवनमा प्रयोग हुने व्यवहारिक कुराहरू निकै आवश्यक रहेको बताउँदै हरेक कलेजले यस्ता कार्यक्रम गर्न आवश्यक रहेको सुनाउँछिन् । ‘एक दिन यो कार्यक्रममा सहभागी हुँदा मैले धेरै कुरा सिकें,’ भन्छिन्, ‘बरिष्टा, बारको विषयमा त्यति थाहा थिएन तर आज सिक्ने अवसर मिल्यो । सँगै नयाँ साथीहरूसँग पनि परिचय भयो । यो अवसरको लागि कलेजलाई धन्यवाद ।’ प्रेस्टन इन्टरनेशनल कलेजमा अध्ययनरत ऋतिका लामाले कार्यक्रममा आउँदा कफी कसरी बनाउने भन्ने बारेमा थाहा पाइन् । दैनिक जीवनमा खाँदै आएको कफी कसरी बनाउने, यो बनाउन के के चाहिन्छ भन्ने विषयमा जानकारी पाउँदा उनी निकै खुसी थिइन् । ‘सिकाउने समकक्षीहरू पनि राम्रो हुनुहुन्थ्यो, हामीले पनि रमाइलो तरिकाले सिक्यौं,’ उनी भन्छिन्, ‘विदेश जाने साथीहरूका लागि त अझ यस्तो सीप निकै आवश्यक छ । रमाइलो भयो नयाँ साथीहरूसँग चिनजान भयो, लगानी कसरी गर्ने, मार्केटिङ के हो भन्नेबारे पनि थाहा भयो ।’ प्रियंका, ऋतिकाजस्ता काठमाडौं उपत्यका भित्र र बाहिरका विद्यार्थी अहिले करिअर हिमालयन ह्वाइट हाउसमा करिअर काउन्सिलिङका विषयमा सिकिरहेका छन् ।