बजेट कार्यान्वयनमा अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, २१ सय स्वास्थ्यकर्मी थप्ने प्रस्ताव
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए । सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने नि:शुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलन लगायतका विषयमा छलफल भएको थियो ।
नयाँ कार्यसमिति चयन गर्दै एपोन, अध्यक्षमा अधिकारी र दाहालको उम्मेदवारी
काठमाडौं । औषधी व्यवसायीहरूको संस्था (एपोन)ले नयाँ कार्यसमिति चयन गर्दै छ । काठमाडौंमा जारी ३१ औं साधरणसभाले सोमबार आज नयाँ कार्यसमिति चयन गर्न लागेको हो । अध्यक्षमा दुई जना आकांक्षी रहेकाले सके सहमतीमा नभए निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने एपोनले जनाएको छ । अहिले अध्यक्षका उम्मेदवार विप्लव अधिकारी र दीपक दाहालबीच सहमतीको प्रयास भइरहेको जनाइएको छ । उम्मेदवारहरूबीच सहमति नजुटे दिउँसो १ बजेदेखि ३ बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिने छ । यस्तै सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन् ।
युनिग्लोब ह्याकथन १.० सुरु
काठमाडौं । युनिग्लोब एसएस/कलेजमा आइतबारदेखि ३ दिने युनिग्लोब ह्याकथन १.० को सुरुवात भएको छ । ह्याकथनमा २० टोली (प्रत्येकमा ३ जना सदस्य) ले सहभागिता जनाएका छन् । प्रतियोगिता युनिग्लोब एसएस/कलेजका लागि ‘एमआईएस इन्टरफेस’ को वेब विकास भन्ने मुख्य विषयमा केन्द्रित छ, जहाँ सहभागी टोलीहरूले विद्यालय व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन नविन र व्यवहारिक समाधान प्रस्तुत गर्नेछन् । प्रविधिको प्रयोगमार्फत शैक्षिक संस्थाको सशक्त डिजिटल रूपान्तरणको दिशामा यो एक महत्त्वपूर्ण पहल मानिएको छ । ह्याकथनको पुरस्कार राशि ४० हजार रुपैयाँ निर्धारण गरिएको छ । कार्यक्रमको टाइटल स्पोन्सर एक्पर्ट भिजन कन्सल्टेन्सी रहेका छन् भने आईपीएस वर्ल्ड लिंक नेटवर्क पार्टनरको रूपमा सहकार्यमा छ । साथै चिया आर्केडले पनि कार्यक्रममा सहयोग गरेको छ । सम्पूर्ण खानपान व्यवस्थापन युनिग्लोब आईटीे क्लब स्वयंले गरेको छ । कार्यक्रम सफल बनाउन १५ जना सदस्यहरू खटिएका छन् भने पहिलो दिन उत्साह, नवीनता र सहकार्यको उत्कृष्ट झलक देखिएको छ । युनिग्लोब एसएस/कलेजका ईसीसीए कार्यक्रम संयोजक एनबी गुरुङले युनिक्लोब ह्याकाथन १.० ले युवा प्रतिभाहरूको क्षमता उजागर गर्दै डिजिटल युगको नेतृत्वमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।