सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर खुला

काठमाडौं ।  सामसङ नेपालले अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि-अर्डर सुरु गरेको छ । साउन २२ देखि साउन २९ गतेसम्म यी स्मार्टफोनहरू प्रि-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्लोबल अनप्याक्ड कार्यक्रमपछिको घोषणा अनुसार नयाँ फोल्डेबल डिभाइसहरू अल्ट्रा-पातलो, हलुका र इन्ट्युटिभ ए.आइ. फिचरहरूसहित बजारमा ल्याइएका हुन् । ग्यालेक्सी जेड फोल्ड७ हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा सामसङको डिजाईन, क्यामेरा क्षमता र ग्यालेक्सी एआइ सँगको संयोजन भएको डिभाइस हो । खोल्ने बित्तिकै ठूलो डिस्प्ले मार्फत उत्पादकत्व र मल्टिटास्किंगमा नयाँ स्तर प्रदान गर्ने यो डिभाइस प्रिमियम प्रयोगकर्ताका लागि लक्षित गरिएको छ । त्यसैगरी, ग्यालेक्सी जेड फ्लिप७ स्मार्ट ए.आइ. फिचरहरूसहितको कम्प्याक्ट फोल्डेबल फोन हो, जुन खल्तीमै अट्ने डिजाइनसहित दैनिक प्रयोगमा सहजता दिन्छ। सानो भए पनि यो डिभाइस फ्ल्यागशिप क्यामेरा, एज-टु-एज फ्लेक्सविन्डो र आइकोनिक डिजाइनका साथ उच्चस्तरीय अनुभव दिन सक्षम छ । सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले भने, 'ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल प्रविधिलाई पुनः परिभाषित गरेको छ । एआइ र हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई सहज र स्मार्ट अनुभव दिन्छ ।' जेड फ्लिप७ मा नयाँ र ठूलो कभर स्क्रिन समावेश गरिएको छ, जसमा थप विजेटहरू, एप्सहरूसँग इन्टरेक्शन तथा स्क्रिनमै धेरै काम गर्न मिल्ने बनाइएको छ । ४.१ इन्चको फ्लेक्सविन्डो यो सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो स्क्रिन हो। फोन फोल्ड गरिएको अवस्थामा पनि प्रयोगकर्ताले दैनिक कार्यहरू सजिलै गर्न सक्ने बनाइएको छ। क्यामेरा पनि अब झनै स्थिर र रंगको दृष्टिले सटीक छ, र ब्याट्रीको आयु थप सुधार गरिएको छ। नेपालमा यी स्मार्टफोनहरू हाललाई २५६GB स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछन् । प्रि-अर्डर गर्न इच्छुक ग्राहकहरूले सामसङकाे वेबसाइटमा गएर दर्ता गर्न सक्नेछन् । प्रि-अर्डरको लागि ५ हजार अग्रिम भुक्तानी गरेपछि, ग्राहकहरूले OTP प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले नजिकको स्टोरबाट नयाँ स्मार्टफोन खरिद गर्दा आफ्नो प्रि-अर्डर प्रमाणित गर्न सक्नेछन् ।

काठमाडौं नेशनल मेडिकल कलेज पुन: सञ्चालनमा, प्राइभेटभन्दा सस्तो सेवा दिने दावी

काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले  उक्त अस्पतालको उद्घाटन गरे । उनले  स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदम रहेको बताए।  ८ वर्षअघि नै अध्यापनको लागि सम्बन्ध पाएको यो कलेजले सेवा दिन पाएको थिएन । अहिले एक सय शैयाको स्वीकृति लिएर अस्पताल सञ्चालन भएको हो ।  कलेजले अबको केही वर्षमा पाँच सय शैयाको अस्पतालसहित एमबीबीएस तथा एमडी कोर्ष गर्ने लक्ष्य लिएको छ।  निजी मेडिकल कलेज संघका पूर्वअध्यक्षसमेत रहेका बसुरुद्दिन अन्सारीले २०६८ सालदेखिको प्रयासपछि कलेज अस्पताल सञ्चालनमा ल्याउँदा खुसी भएको बताए ।  उनले अब गुणस्तरमा कुनै पनि हामी कम्प्रोमाइज नहुने दाबी गरे ।  ‘हाम्रो सिद्धान्त नागरिकले सस्तो, राम्रो, बलियो, भरपर्दो सेवा पाउन् भन्ने हो,’ उनी भन्छन्, ‘अब कुनै हालतमा क्वालिटीमा कम्प्रोमाइज हुनेवाला छैन । पैसाको कुरा गर्नुहुन्छ भने हामीले सबैभन्दा सस्तो सरकारीभन्दा १० प्रतिशत बढी र  प्राइभेटभन्दा धेरै सस्तो सेवा दिनेछौं।’  अन्सारीले गरिब निमुखा र असहायको लागि पनि अस्पतालमा विशेष व्यवस्था गरिएको पनि दाबी गरेका छन् ।  उनले यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मुल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु भएको बताए । आजदेखि सञ्चालनमा आएको नेशनल मेडिकल कलेजमा अनुभव टोली छ । नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन ल्याएको हो । ओपीडी निःशुल्क काठमाडौं नेशनल मेडिकल कलेज फेरि सञ्चालन गरेको अवसरमा अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको छ ।  अर्को सूचना जारी नहुँदासम्म निरन्तर उपलव्ध हुने जनाइएको छ ।  अस्पतालले अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको जनाएको छ ।  केही दिनसम्म विशेषज्ञ सेवाअन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोनी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ ।  अबदेखि अस्पतालमा एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड एक्सरे र फिजियोथेरापी सेवामा पनि छुट दिइने छ भने आपतकालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहने छ ।  फार्मेसी सेवा भने अस्पताल परिसरमै उपलब्ध गराइने छ । बसुरुद्धिनले स्वास्थ्य मन्त्रालयबाट कुनै अनुमति नलिइ अवैध रूपमा सञ्चालन भएको थाहा भएपछि यो अस्पताल बन्द गराइएको थियो । तर बसुरुद्धिन अवैध नभइ विशेष कारणवश गोविन्द केसीको अनसनबाट  बन्द गर्नु परेको बताउँछन् । ‘पहिले केही प्राविधिक समस्याहरू थिए, चलिसकेको अस्पताल रोक्नुपर्‍यो, फेरि चिकित्सा शिक्षा आयोगले अर्कै बार लगाइदियो र हामी बीचमा हराएजस्तै भयौं । अब हामी गुणस्तरीय र सस्तो सुलभ सेवा प्रदान गर्नेछौं,’ उनले भने ।  उनले अब सबै सरकारी प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याएको बताए।

जुलाईमा भित्रिए ७० हजार विदेशी पर्यटक

काठमाडौं ।  सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ ।  यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।  नेपाल पर्यटन बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनःलयमा आएको छ । सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कूल छ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए । जुलाईमा कूल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् ।  दोस्रो स्थानमा चीनबाट छ हजार आठ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट छ हजार छ सय २६ जना (९.४ प्रतिशत), बङ्गलादेशबाट चार हजार चार सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट तीन हजार पाँच सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ । क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार सात सय ८७ जना (४८.१ प्रतिशत) र  छन् अन्य एसियाली मुलुकबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट नौ हजार दुई सय ९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार सात सय ७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात जना (२.६ प्रतिशत), मध्यपूर्वबाट आठ सय २६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट तीन सय १८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ । बोर्डका सीईओ जोशीले भने, ‘भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।’