१३ करोडमा चन्द्रकोट अस्पताल निर्माण सम्पन्न, सेवा पाउन बुटबल धाउनुपर्ने बाध्यता

तम्घास । 'म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ', चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, 'घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।' शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताइन् । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएकी छैनन् । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताइन् ।  'अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ', शर्माले भने । उनले निःशुल्क रूपमा चारआना जग्गा पनि प्रदान गरेकी थिइन् । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेकी थिइन् । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् ।    स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताइन् । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताइन् ।  उनले भनिन्, 'यति ठूलो अस्पताल पालिका एक्लैले सञ्चालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।' चन्द्रकोट गाउँपालिका–६ मा रु १३ करोड ६६ लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने दुईतले आवास भवन पनि निर्माण गरिएको छ ।   गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए । रासस

भिडियो एक्सरे मेसिन चलाउने मान्छे नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा बन्द

काठमाडौं । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रा साउण्ड लगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको हो । तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट वञ्चित भएका छन् ।  अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भए पनि त्यसलाई चलाउने जनशक्ति अभावका कारण सेवा बन्द रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति सह प्राध्यापक डा डबल बहादुर धामीले जानकारी दिए ।  प्रतिष्ठानले रेडियोलोजिस्टका लागि माग गरे पनि कोही सम्पर्कमा नआउँदा यो समस्या भएको उनले बताए । एक सातादेखि बन्द भएको सिटिस्क्यान सेवा भने सञ्चालनमा ल्याएको निमित्त उपकुलपति डा. धामीले बताए । 

पर्यटकलाई गोठालोसँग सुत्नुपर्ने बाध्यताको अन्त्य, बुकीपाटनमा ‘गोठबास’ले सहज

डम्मर बुढामगर काठमाडौं । ढोरपाटन उपत्यकादेखि करिब साढे ४ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुद्री सतहदेखि ४ हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदल यात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई विश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडी गोठबाहेक अरु कुनै पनि संरचना थिएन । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिक जसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् । विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमशृङखलासहित हजारौंका सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो । बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरू भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याएका हुन् ।  थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याउनु भएको छ । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उनीहरुले स्वागत गर्नुहुन्छ । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठस्टे विश्रामस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रृंखला र गोठालाको जनजीवन अनुभूत गर्न पाउँछन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताए । पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उनको भनाइ छ । बुकीपाटन गोठस्टे सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवर्द्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उनी बताउँछन् । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्‍ग्राको मासु, लेकाली साग, आँटो ढिडोलगायतका परिकार खान दिने गरेको थापाले बताए ।  ‘बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुई/तीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टे सुरु गरे, यसवर्ष अर्को एक जना साथीले पनि सुरु गर्नुभएको छ,’ उनले भने, ‘पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरूलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ ।’ महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गरेका हुन् । ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आउनुभएका घर्तीमगरले गोठस्टे सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताए ।  गोठस्टेमा आउने पर्यटकले एक रातको बसाइँसँगै खाना र खाजाको २ हजार ५ सय शुल्क लिने गरेको उनको भनाइ छ । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको उनले बताए ।  ‘बुकीपाटनमा पर्यटकको आगमनमा धेरै वृद्धि भएको छ, सडकको पहुँच नभएको हुँदा पद मार्गमार्फत यहाँ आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, त्यति मात्रै होइन यो ठाउँ उच्च क्षेत्रमा पर्ने हुँदा लेक लाग्छ, केही त बिरामी पर्नुहुन्छ,’ घर्ती मगरले भने, ‘बुकीपाटन आउँदा स्वास्थ्यको ख्याल गरेर आउनुपर्छ, हामीहरुले गोठस्टेमा आउने पर्यटकका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थाप गरेका छौँ, अब पर्यटकलाई पहिलेको जस्तो गोठमा बस्नुपर्ने अवस्था छैन ।’  गर्पाछेडाबाट फागुने, टीकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाइ दिएको पोखरा महानगरपालिका-७ बाट आएका मुकेश सुब्बाले बताए । बुकीपाटनमा आफू पहिलो पटक चार वर्ष अगाडि आएको भन्दै त्यस बेला गोठमै बसेर फर्किएको उनले सुनाए । गोठस्टेमा होटलको जस्तो सुविधा नभए पनि बास बस्न र खाना खानका लागि धेरै सहज भएको उनको भनाइ छ । रासस