भाडा पुर्ताल सम्झौतासम्म नियमित, सकिएपछि विमान बिग्रिएको त कहिले मौसम खराब
काठमाडौं । इलाम जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका-९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्ला वासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाज उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् । यस विमानस्थलबाट गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौं फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलाइन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम-काठमाडौं उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताए । ‘पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्ने गरी तारा एयर र नेपाल एयरलाइन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व ब्यहोर्नुपर्ने छैन ।’ नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलाइन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। तीन महिना यता सो विमानस्थल सुनसान बनेको छ । इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताए । ‘नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ । तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुन सकिरहेको छैन,’ उनले भने । ३२८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँच मार्ग, सुरक्षित तार बारलगायत संरचना अझै अधुरै छन् । स्थानीयबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँ बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गरेका थिए ।
तेल्या इँटा बिछ्याए पछि पाटन दरबार क्षेत्र थप आकर्षक, लागत डेढ करोड रुपैयाँ
काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्य पूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याए पछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब १ करोड ५२ लाख रुपैयाँ लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमै उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्य पूर्ण मानिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनका अनुसार तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका उनले बताए । नगर प्रमुख महर्जनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ । स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको प्रतिक्रिया दिए । ‘पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो । अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ,’ उनले भने । महानगरले यस किसिमका कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको देखिन्छ । दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ ।
६ हजार ३८ मिटर उचाइको चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि खुला
काठमाडौं । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहणका लागि खुला गरेको छ । दामोदर हिमशृङखला अन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ ६ हजार ३८ मिटर रहेको छ । सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । यस्तै, चामे, सिपाङ, हुम्डे, मनाङ लेडर हुँदै आधार शिवरसम्म पुग्न सकिनेछ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ । डिस्याङ गाउँपालिका-५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको हिमालचुली पर्वतारोहणका लागि खुला गरिएको छ । चुलु सुदूरपूर्वको नामले परिचित सो हिमालको आरोहणमा प्रायः गरेर ‘अन्नपूर्ण सर्किट ट्रेकसँग जोडिन्छ । चुलु पूर्व हिमाल मनाङ उपत्यकाभन्दा माथि रहेको छ । जहाँ अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौथो, गङ्गापूर्ण, हिमनदी, धवलागिरि, तिलिचो र मनास्लुको मनमोहक दृश्यहरूसमेत हेर्न सकिन्छ । नेपाल पर्वतारोहण सङ्घले सो हिमाल आरोहणका लागि व्यवस्थापन गर्दै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही भदौ १२ गते रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको जनाएको छ । आरोहीहरूका अनुसार चुलु सुदूरपूर्व चुचुरोलाई नेपालका अन्य चुचुराका तुलनामा सजिलो मानिन्छ ।