ट्वीटरको नयाँ फिचर, जिआइएफ, फोटो र भिडियोमा अक्षर नगनिने
काठमाडौं, ५ असोज। माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले प्रयोगकर्तामैत्रि एउटा ठूलो घोषणा गरेको छ । अब ट्वीटमा एट्याच गरिने फोटो, जीआईएफ फोटो र भिडियो १४० अक्षरको हिस्सा हुनेछैनन् । तर अहिले यसलाई ट्वीटरले परीक्षण गरिरहेको छ । यसको परीक्षणका लाग ट्वीटरले थोरे सङ्ख्याका प्रयोगर्तालाई यो सुविधा दिएको छ । यसका अलावा कम्पनीले ट्वीटरमा कयौं अन्य परिवर्तन पनि गरेको छ । अहिलेसम्म ट्वीटरमा कुनै पनि ट्वीटका लागि १४० अक्षरको सीमा रहेको छ । यस सीमामा फोटो, जीआईफ फोटो र भिडियो पनि सामेल छन् । उदाहरणका लागि यदि तपाईंले कुनै फोटोसहित ट्वीट गर्नुहुन्छ भने तपाईंको ट्वीट ११८ अक्षरमा घट्छ । साधरणतया २२ अक्षरको फोटो हुने गरेको छ। अब ट्वीटरको यो घोषणापछि केही हप्तामै फोटोसँग ट्वीट गर्दा १४० अक्षर नै पाइनेछ । यसले धेरै ट्वीटर प्रयोगकर्तालाई खुसी बनाउनेछ । छोटो शब्दमा ट्वीट गर्नुपर्ने भएकाले धेरै मानिसले यो समस्यामा गुनासो गर्दै आएका थिए । ट्वीटरले एक भिडियो ट्वीट गर्दै अब फोटो र अन्य मिडिया एट्याच गरेर सेयर गर्नुपरेमा यसलाई १४० अक्षरभित्र गनिने छैन । रिप्लाईमा मिल्नेछ धेरै सहूलियत नयाँ अपडेटसँगै अब कुनै ट्वीटको रिप्लाईमा जोडिने युजर नेम अब क्यारेक्टरमा गनिने छैन । यसभन्दा अघि कुनै ट्वीट कनभर्सेसनमा युजरनेम लेख्दा पनि अक्षरको गणना हुन्थ्यो । यो नयाँ फिचर ट्वीटर फ्यानका लागि विशेष सुविधा हो । आफ्नै ट्वीट पनि अब क्वेट ट्वीट हुने ट्वीटरले एक अर्को खास फिचरको पनि घोषणा गरेको छ । यस घोषणा अनुसार ट्वीटर प्रयोगकर्ताले आफ्नै ट्वीट पनि क्वेट-रिट्वीट गर्न सक्नेछन् । आफ्नो ट्वीटलाई क्वेट-ट्वीट गर्ने सुविधा पनि नयाँ हुनेछ ।
हिमालय एअरलाइन्सले असोज १५ गतेदेखि काठमाडौं–कोलम्बो नियमित उडान भर्ने
काठमाडौं, ४ असोज । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो दोश्रो नियमित गन्तब्य श्रीलंकाको राजधानी कोलम्बोबाट शुरु गर्ने भएको छ । एअरलाइन्सले काठमाडौं–कोलम्बो–काठमाडौं सीधा उडान गरेर असोज १५ गतेदेखि नियमीत उडान सेवा शुरु गर्ने भएको छ । ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास सहित जम्मा १५८ सीट क्षमता बोकेको एअरलाइन्सको एअरबस ३२०–२१४ ले नयाँ रुटको उडान गर्नेछ । उडान तालिका अनुसार एअरलाइन्स्ले साताको ३ दिन उडान गर्नेछ । उडान नं एचनाइन ६७३ को उक्त विमान मङ्गलबार, बिहिबार र शनिबार काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बाट ११:३० बजे (स्थानीय समय) उडेर १५:१५ बजे (स्थानीय समय) बन्दरानायक अन्तराष्ट्रिय विमानस्थल, कोलोम्बोमा अवतरण गर्नेछ । त्यसैगरि कोलोम्बोबाट उडान नं एचनाइन ६७३ को सोहि विमान १६:१५ बजे (स्थानीय समय) उडेर २०:१५ बजे (स्थानीय समय) काठमाडौँमा अवतरण गर्नेछ । एअरलाइन्सको भाइस प्रेसिडेन्ट कोलम्बो उडानबारे बताउँदै भने,“अघिल्लो २ गैर निर्धारीत कोलम्बो उडानहरुबाट प्राप्त उत्साहजनक प्रतिक्रियाबाट यो रुट हामीले सम्भावना बोकेको रुट पायौँ । दुई देश बीच वर्षौ देखिको यात्रुहरुको चापलाई अध्ययन गरेर हामीले यो गन्तब्य शुरु गर्ने निर्णय गरेका हौँ । दुई देश बीच पर्यटन प्रवर्धन गर्न कोलम्बो जस्तो महत्वपुर्ण बजारमा सेवा विस्तार गर्न पाएकोमा हामी निकै खुसी छौँ । उडानले नेपाल र श्रीलंका बीच पर्यटन प्रवर्धन गर्दै दुई देश बीच नयाँ व्यापारीक अवसरहरु प्रदान गर्न सघाउ पु¥याउने छ ।” एअरलाइन्सले क्लासीक ट्राभल्सलाई कोलम्बोको लागि जेनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरेको छ । सो कम्पनीले श्रीलंकामा एअरलाइन्सको बजार विकास, सिट आरक्षण, टिकेटिङ लगायत सेवाहरु प्रदान गर्नेछ । एअरलाइन्सले कोलम्बोको लागि एकोहोरो र दोहोरो भाडादर क्रमशः २९ हजार १९१ रुपैयाँ र ५० हजार ०४१ रुपैयाँदेखि शुरु गरेको छ । उक्त भाडा सरकारी कर सहित रहेको एअरलाइन्सले जनाएको छ ।
हिमालय एयरलाइन्सको दोश्रो उडान कोलम्बोमा, हप्तामा तीन उडान भर्ने
काठमाडौं, ३ असोज । हिमालय एयरलाइन्सले दोश्रो नियमित गन्तव्यका रुपमा श्रीलंकाको राजधानी कोलम्बोमा उडान भर्ने भएको छ । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्सले २०७२ साल चैत ३१ कोलम्बोबाटै पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । जेठ १८ गतेदेखि कतारको राजधानी दोहामा पहिलो नियमित उडान भरिरहेको हिमालयले दोश्रो गन्तव्यका रुपमा कोलम्बोलाई छानेको हो । हिमालय एयरलाइन्सका महाप्रबन्धक राजुबहादुर केसीले हप्ता तीन उडान भर्ने जानकारी दिए । हिमालयले मंगलबार, बिहिबार र शनिबार कोलम्बो उडान भर्नेछ । बर्षेनी ३० हजार श्रीलंकाली नेपाल आउने गरेको र १५ हजार नेपाली श्रीलंका जाने गरेको महाप्रबन्धक केसीले जानकारी दिए । त्यस बाहेक ट्रान्जिट पोइन्टका रुपमा पनि धेरैले श्रीलंका र नेपाललाई प्रयोग गरिहरको उनले बताए । हिमालयले नियमित उडान सुरु गरेपछि ठुलो मात्रामा श्रीलंकाली पर्यटक नेपाल आउने दावी समेत उनले गरे । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास गरी १५८ सीट क्षमताको विमान एअरबस ३२०–२०० बाट हिमालयले श्रीलंका उडान गर्नेछ । एक तर्फी भाडा ३० हजार तोकिएको छ भने दुई तर्फको शुल्क ५० हजार रुपैंयाँ लाग्नेछ । हिमालय एयरलाइन्सले तेश्रो उडान गन्तव्यका रुपमा भारतको नयाँ दिल्ली उडान भर्ने योजना बनाएको पनि महाप्रबन्धक केसीले विकासन्युजलाई जानकारी दिए । केही महिना पछि हिमालयले भारतको नयाँ दिल्ली, चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने तालिका बनाएको उनले बताए । संयुक्त लगानीमा सञ्चालित एअरलाइन्समा ५१.०१ प्रतिशत लगानी नेपालीको छ भने ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ ।