अबदेखि कक्षा १२ मा मात्र एसएलसी, १० कक्षामा भने माध्यमिक परीक्षा

काठमाडौं २८, कात्तिक । शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो । शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यसका कार्यालयहरू सातै प्रदेशमा राख्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले गठन गरेको ६ सदस्यीय प्राविधिक समितिले सहसचिवस्तरको कर्मचारी प्रमुख रहने गरी सातै प्रदेशमा कार्यालय राख्न तथा अहिलेको संरचनाभन्दा केही फरक हुनेगरी संरचना तयार गर्न सुझाब दिएको हो । प्रतिवेदनमा सातवटै प्रदेशमा सहसचिवसरहको कर्मचारीको नेतृत्वमा राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय कार्यालयहरूको व्यवस्थापन गर्ने सिफारिस भएको छ । बोर्डका क्षेत्रीय कार्यालयहरू परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सक्षम नहुँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गर्न सिफारिस गरेको छ । कक्षा ११ को राष्ट्रिय परीक्षा हाल कार्यान्वयनमा रहेको कक्षा ११ र १२ को पाठ्यक्रम पुनव्र्यवस्थापन नहुँदासम्म मात्र सञ्चालन गर्ने र परिमार्जित पाठ्यक्रमअनुसारको परीक्षा सञ्चालन गर्दा कक्षा ११ विद्यालय तहबाटै र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा परीक्षा बोर्डले सञ्चालन गर्नेलगायतका सिफारिस भएका छन् । नयाँ पत्रिका दैनिकबाट ।

जहाजको प्राविधिक परीक्षण नेपालमै सुरु, बुद्ध एयरले थाल्यो नेपालमै विदेशी जहाज मर्मत

काठमाडौं २८, कात्तिक । मुलुकमै पहिलोपटक जहाजको परीक्षण र मर्मतसम्भार (एमआरओ) सेवा सुरु भएको छ । निजी क्षेत्रद्वारा सञ्चालित बुद्ध एयरले स्वदेशी र विदेशी एयरलाइन्सहरुलाई यस्तो सुविधा उपलब्ध गराउने भएको हो । सरकारले गत भदौमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको बुद्ध एयरको ह्याङ्गरलाई एमआरओ सेवा दिनसक्ने अनुमति दिएको थियो । नेपालमा जहाजको सामान्य चेकजाँच हुने गरे पनि यस्तो सुविधा यसअघि थिएन । बुद्धका अनुसार अब एटीआर र बीच एयरक्राफ्टको ‘होलबडी’ चेकजाँच र मर्मत गर्न नेपाल बाहिर लैजानु नपर्ने भएको छ । बुद्धको ह्याङ्गरबाट सुरु भएको एमआरओ सेवाले दीर्घकालमा विदेशी एयरलाइन्सका जहाजसमेत मर्मत गर्ने बाटो खुलेको छ । “लामो समयसम्मको तयारीपछि एमआरओ सेवा सुरु गरेका छौं,” बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने । हालसम्म बंगलादेशको नोभो एयर र भुटानको ड्रुक एयरले मर्मतको सेवा लिन बुद्ध एयरसँग सम्झौता गरिसकेका छन् । बुद्धको ह्याङ्गरमा हाल १ सय ४६ प्राविधिक कार्यरत छन् । एमआरओ परीक्षणको शुल्क नतोकिए पनि ३० हजार डलरदेखि १ लाख डलरसम्म पर्छ । नेपालमा दुई ठूला विमानस्थल ९पोखरा र भैरहवा० निर्माण भइरहेकाले पनि बुद्ध एयरले सञ्चालन गर्ने एमआरओ सेवाले धेरै एयरलाइन्सले सेवा पाउने बताइएको छ । बुद्धको ३७ हजार वर्गफिट क्षेत्रफलमा रहेको ह्याङ्गरबाटै यो सेवा उपलब्ध हुने जनाइएको छ । बुद्धले सन् २०१२ मा झन्डै २५ करोड रुपैयाँ खर्चिएर यो ह्याङ्गर निर्माण गरेको थियो । कारोबार दैनिकबाट ।

फेसबुकद्वारा आफ्नै मालिक जुकर्बर्गलाई मृत घोषणा, मार्कसँगै अरु २० लाख प्रयोगकर्तालाई मृत घोषणा

काठमाडौं: फेसबुकले आफ्नै मालिक मार्क जुकर्बर्गलाई मृत घोषित गरिदिएको छ। यस सामाजिक सञ्जालमा जुकर्बर्गसँगै करिब २० लाख मानिसको मृत्यु भएको म्यासेज पठाइयो । शुक्रवार देखिएको यो म्यासेजले फेसबुक प्रयोगकर्ता हैरान भएका छन् । तर, यो म्यासेज गल्तीले गएको भन्दै फेसबुकले केही समयपछि सच्यायो । फेसबुकले यसलाई ठूलो गल्ती भन्दै प्राविधिक गड्बडीले केही प्रयोगकर्ताको एकाउन्टमा श्रद्धाञ्जली दिइएको म्यासेज जान पुगेको स्पष्टिकरण फेसबुकले दिएको छ । केही प्रयोगकर्ताले आफ्नो फेसकुबक एकाउन्ट खोल्दा त्यहाँ मार्क जुकर्बर्गको मृत्यु भएको म्यासेज आइरहेको थियो । जुकर्बर्गकै फेसबुक पेजमा पनि उनलाई मृत घोषित गरिएको थियो । जुकर्बर्गको होमपेजमा जुकर्बर्गलाई सम्झिरहेको म्यासेज आइरहेको थियो । फेसबुकका कयौं प्रयोगकर्ताहरुले आफ्नो होमपेजको म्यासेजलाई स्क्रीनसर्ट हानेर सामाजिक सञ्जालमा सेयर पनि गरे । यस मामिलामा सर्च इन्जिन ल्यान्डका सम्पादक ड्यानी सुलिवानले ट्विट गर्दै एक सन्देश पनि लेखे । ‘उफ! फेसबुकमा आफैँलाई जीवित देखाउनका लागि मैले फेसबुकलाइको प्रयोग गर्नुपर्‍यो ।’ समाचार अनुसार केही बेरमै यो गल्तीलाई फेसबुकले सुधारेको थियो । एउटा अनलाइन त्रुटिका कारण फेसबुकले सबै प्रयोगकर्तालाई मृत घोषित गरेको थियो । समाचार अनुसार फेसबुकले करिब २० लाख प्रयोगकर्ताहरुलाई मृत घोषित गरिदिएको थियो । यसका कारण मानिसबीच कयौं किसिमका भ्रम पनि फैलियो ।