आइतबारदेखि मोवाइल इन्टरनेटमा टेलिकमको फड्को, फोरजी थ्रीजीकै भाउमा, चार दिन सित्तैमा

काठमाडौं १६, पुस । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार फोरजीको ‘सफ्ट लन्च’ हुन लागेको हो,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘त्यसैले गर्दा अहिले व्यावसायिक प्याकेज ल्याइएको छैन, प्रवर्द्धनका लागि पुरानै दरमा चलाउन दिने निर्णय भएको हो ।’ ती अधिकारीका अनुसार हाल दोस्रो पुस्ताको मोबाइल सेवा (टुजी) र तेस्रो पुस्ताको मोबाइल सेवा (थ्रीजी) मा लागू भएकै महसुल दर फोरजीका लागि कायम गरिएको हो । शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले टेलिकमले फोरजी औपचारिक रूपमा सुरु गर्नुभन्दा अगाडि नयाँ महसुल दर स्वीकृत गराउने अवस्था छैन । भ्वाइसका लागि भने टुजी र थ्रीजी पोस्टपेड ग्राहकले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म (पिक आवर)का लागि प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले १ रुपैयाँ तिर्दै आएका छन् । यो टेलिकमको नेटवर्कबाट टेलिकममै कल गर्दाको दर हो । यसैगरी बेलुका १० देखि बिहान ६ बजेसम्म भने पोस्टपेड मोबाइलमा ५५ पैसा प्रतिमिनेट तिर्नुपर्छ । थ्रीजी पोस्टपेड र प्रिपेडबाट भिडियो कल गर्दा भने प्रतिमिनेट २ रुपैयाँ र एमएमएस पठाउँदा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । फोरजी सेवाका लागि ग्राहकले पुरानै दरमा सेवा लिन पाए पनि त्यसको गति भने तीव्र हुनेछ । यसको गति ३० देखि ४० मेगाबाइट प्रतिसेकेन्ड (एमबीपीएस) बीच हुने टेलिकमका अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले फोरजीका लागि १ सय एमबीपीएस गति तोकेको भए पनि धेरै मुलुकमा ४० एमबीपीएस गतिको इन्टरनेटलाई फोरजीका रूपमा लिने गरिएको छ । भारतमा समेत सेवा प्रदायकले यही गतिमा फोरजी सुरु गरेका छन् । सरकारी स्वामित्वको टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको हो । उच्च गतिको इन्टरनेट हुने यो सेवा विकसित मुलुकमा भने करिब ६ वर्षदेखि सुरु भइसकेको छ । केही मुलुकले पाँचौं पुस्ताको मोबाइल सेवा (फाइभजी) को समेत परीक्षण थाल्ने घोषणा गरिसकेका छन् । चार दिन सित्तैमा फोरजी हाललाई पुरानै दरमा फोरजी चलाउन दिने तयारी गरेको टेलिकमले ग्राहकलाई सुरुका चार दिन भने सित्तैमा फोरजी चलाउन दिने प्याकेज तय गरेको छ । ‘ग्राहकलाई नयाँ सेवाबारे जानकारी दिन पनि यस्तो प्याकेज बनाइएको हो,’ टेलिकमका एक अधिकारीले भने, ‘हामीले ४ दिनका लागि हरेक दिन एकरएक जीबी (गिगाबाइट) डाटा सित्तैमा चलाउन दिँदै छौं ।’ जीएसएम मोबाइलका ग्राहकले एसएमएस पठाएरै यो सेवा लिन सक्ने उनले बताए । जनवरी महिनाभर यो प्रवर्द्धनात्मक योजना लागू भए पनि एकपटक सेवा लिएर चार दिन चलाएका ग्राहकले भने फेरि सित्तैमा चलाउन पाउने छैनन् । कान्तिपुर दैनिकबाट ।

चक्रपथभित्र गुड्न थाले १० वटा महानगरका बस, थप ४० वटा सिटी बस भित्र्याउने तयारी

काठमाडौ, १५ पुस । चक्रपथमा लोकप्रियता कमाएको महानगर यातायातले शुक्रबारदेखि राजधानीका चक्रपथभित्रका रुटमा पनि बस सञ्चालनमा ल्याएको छ । हालसम्म चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगले यात्रुहरुको माग भएको भन्दै भित्री रुटमा १० बस सञ्चालनमा ल्याएको हो । महानगरका बसले शुक्रबारदेखि राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा शुरु गरेका छन् । यी रुटमा छिट्टै थप बस पनि सञ्चालन गर्ने जानकारी महानगरका अध्यक्ष मधुसुदन अधिकारीले दिएका छन् । यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगर यातायातले केही दिन अघि देखि आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरिसकेको छ । भित्रीरुटमा सेवा शुरु भएसँगै अब थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको जानकारी उपाध्यक्ष सन्तोष खतिवडाले दिएका छन् ।

विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला, नदिदेखि ५६५ मिटर माथी रहेको पुलले दुई ओटा प्रान्तलाई जोड्ने

वेईजिङ, १५ पुस । चीनका दुई ओटा प्रान्तलाई जोड्ने गरी बनाएको विश्वको सबैभन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् । “यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुकालागि यो पुल निकै उपयोगी भएको छ,” एक चालकले भने । यस पुलले यसअघिको सबैभन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन् । रासस/एएफपी