चन्द्रागिरिको निशुल्क बस सेवा सञ्चालनमा, बस काठमाडौंको दुई स्थानबाट लाग्ने
काठमाडौं, १७ पुस । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताएका छन् । कार्यक्रममा संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा जानकारी गरेका छन् । कम्पनीले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ वषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने कम्पनीले जनाएको छ । त्यस्तै, कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । यि बसहरु सोही स्थान हुँदै फर्कने छन् ।
सन् २०१७ मा घुम्नै पर्ने १० गन्तव्य, घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपालपनि
काठमाडौं १८, पुस । सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका रहेका छन् । त्यस्तै छैटौंमा बर्मुडा, सातौंमा मंगोलिया, आठौंमा ओमान, नवौंमा म्यानमार तथा दशौंमा इथियोपिया छन् । लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानेर तयार हुन्छ । गएको वर्षको वैशाख १२ मा गएको भूकम्पले क्षति गरेका पदमार्गहरू पुनर्निर्माण भइसकेको समेत जनाएको छ । नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । प्लानेटले तयार पारेको उत्कृष्ट गन्तव्यका सूचीहरूलाई विश्व पर्यटन संगठनले समेत अनुमोदन गरेको छ । प्लानेटले विश्वभरका पर्यटकलाई सन् २०१७ मा छुटाउन नहुने नेपालका १० गन्तव्य समेत सार्वजनिक गरेको छ । नेपालका उत्कृष्ट १० गन्तव्यहरू रारा मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुने समेत प्लानेटले उल्लेख गरेको छ । पुनहिल नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको उल्लेख गर्दै प्लानेटले पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जान सुझाव दिएको छ । म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ । जोमसोम–मुक्तिनाथ हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको लोन्ली प्लानेटले जनाएको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान कमाएको छ । खप्तड खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ । खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुने लोन्ली प्लानेटले जनाएको छ । पछिल्लो समय नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी संस्थाहरूले खप्तड जानको लागि स्वदेशी तथा विदेशीका लागि प्याकेजसमेत घोषणा गरेका छन् । कोशी टप्पु कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई लोन्ली प्लानेटले चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरेको छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ । सो क्षेत्र भ्रमण गर्नको लागि पनि पर्यटन व्यवसायीहरूले विभिन्न प्याकेज बिक्री गर्दै आएका छन् । इलाम नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ । सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ । लाङटाङ रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल ९७ हजार २ सय ४५ मिटर० र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । नेपालको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित लाङटाङ भूकम्पपछि केही सुस्ताएको थियो । काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरू निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ । नवलपरासी जंगलसँग रमाउँदै बोट लिएर चराचुरुंगी हेर्नको लागि उत्कृष्ट गन्तव्य पछिल्लो समय नवलपरासीलाई लोन्ली प्लानेटले उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने उक्त क्षेत्रमा १ सय १४ प्रजातिका चराचुरुंगीहरूको अवलोकन गर्न पाइन्छ । नवलपरासी वरपर पछिल्लो समय सुविधासम्पन्न होटल तथा रिसोर्टसमेत खुलेका छन् । हात्ती सफारीमार्फत जंगली जनावरहरूको अवलोकन गर्न समेत पाइने क्षेत्रलाई प्लानेटले सन् २०१७ मा पर्यटकलाई घुम्न सुझाव दिएको छ । बारपाक गोरखाको उत्तरी क्षेत्रमा पर्ने बारपाक भूकम्पको केन्द्रबिन्दू हो । त्यहाँका अधिकांश घरहरू भत्किएका थिए । विगतमा नमुना होमस्टेसमेत रहेको बारपाक अहिले पुनर्निर्माणको काम भइरहेको छ । प्रकृतिले रमणीय स्थानमा रहेको बारपाक समुद्र सतहदेखि १ हजार ९ सय मिटर उचाइमा छ । कारोबार दैनिकबाट ।
आशा लघुवित्तको थप दुई शाखा तनहुँमा सञ्चालन, अझै ५ स्थानमा खोल्ने तयारी
काठमाडौं, १७ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक थप २ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ । संस्थाले तनहुँको तुरतुरे र खैरेनीटारमा आफ्नो दुई कार्यालय सञ्चालन गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले तुरतुरे शाखाको उदघाटन गरेका छन् भने खैरेनीटार शाखाको उद्घाटन संस्थाका संचालक प्रदिपकुमार खडकाले गरेका छन् । संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने उद्देश्य लिएको छ । देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयवृद्धि मुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराएको छ । साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी यो संस्थाले तनहुँ जिल्लामा २ वटा शाखा खोलेको जानकारी संस्थाका विभागिय प्रमुख जीवन खनालले दिएका छन् । साथै संस्थाको चितवन, धादिङ्, नवलपरासी, सुनसरी, रुपन्देही तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने योजना रहेको छ ।