कखरा पढेको स्कुलमा कुलमान पुगे, इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे

रामेछाप १७, माघ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उनको जन्मथलोमा आइतबार अभिनन्दन गरिएको छ । राजधानी लगायत मुलुकका मुख्य सहर र गाउँको बर्षौदेखिको अँध्यारो हटाएको भन्दै बेथानस्थित डहु माविमा सम्मान गरिएको छ । कार्यकारी निर्देशक बनेपछि पहिलोपटक गाउँ आएका उनलाई माविमा इन्टरनेट सेवा जोड्ने कार्यक्रमको मुख्य अतिथि बनाइएको थियो । उनले इन्टरनेट र सीसीटीभी सञ्चालनको शुभारम्भ गरे । गाउँकै वृद्ध प्रतापसिंह तामाङले खादा लगाएर कुलमानको अभिनन्दन गरेका थिए । सम्मान गर्न भिड लागेको थियो । ”गाउँकै धुलोमा कखरा सिकेर चर्चाको शिखरमा पुगेका कुलमानलाई यो हैसियतमा पाउँदा हामीलाई ज्यादै गर्व लागेको छ” विद्यालयका प्रधानाध्यापक दलबहादुर लामाले भने । कान्तिपुर दैनिकबाट ।

वाइडवडि किन्न साढे ५ करोड बैना, एक वर्ष भित्र निगमलाई अमेरिका युरोप उड्ने जहाज

काठमाडौं १६, माघ । नेपाल वायुसेवा निगमले एयरबसको ठूलो जहाज (वाइडबडी) खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई ५ करोड ४४ लाख रुपैयाँ (५ लाख डलर) बैना दिने शुक्रबार सम्झौता गरेको छ। दुइटा वाइड बडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ गते एएआर कर्पोरेसन छानिएको थियो । ‘निगमका तर्फबाट बैनाका लागि भएको सम्झौतापत्रमा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार र एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेका छन्,’ स्रोतले भन्यो । उक्त सम्झौतापत्रमा साक्षीका रुपमा निगमका निमित्त महाप्रवन्धक आरबी शाह र एएआरका तर्फबाट निक प्राइसले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एएआरले ०७४ पुस र चैतमा गरी दुइटा वाइडबडी काठमाडौं पुर्‍याउने छ । कान्तिपुर दैनिकबाट ।

शहीद दिवसमा चन्द्रागिरि केबलकारमा विशेष छुट, प्रतिटिकट मूल्य ३ सय पचास रुपैयाँ मात्र

काठमाडौं, १४ माघ । चन्द्रागिरि केबलकारले शहीद दिवसको अवसरमा टिकट खरिदमा ५० प्रतिशत छुटको व्यवस्था मिलाएको हो । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारले यही माघ १६ र १७ गते शहीद परिवारको परिचय प्राप्त सदस्यहरुलाई ५० प्रतिशत छुटमा टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको हो । शहीदको त्याग, तपस्या र बलिदानको कदर स्वरूप शहीद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको चन्द्रागिरी हिल्सले बताएको छ । चन्द्रागिरी हिल्सका अनुसार छुट व्यवस्था अनुसार ७ सय रुपैयाँ पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार सदस्य परिचय पत्र अनिवार्य रुपमा साथ मै लिई आउनुपर्ने छ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन नपाउने कम्पनीले जनाएको छ । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोट स्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ ।