अल्टिच्यूड एयरले एक वर्षमा गर्याे ५६ करोड रुपैयाँको व्यापार

काठमाडौं । अल्टिच्यूड एयर प्रालिले एक वर्षमा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । हेलिकप्टर सेवा प्रदान गर्दै आएको कम्पनीले सन् २०२५ मा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।  कम्पनीले यसअघि सन् २०२४ मा ५० करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २०१५ अगस्टमा स्थापित अल्टिट्यूड एयरले अक्टोबर २०१६ बाट व्यावसायिक रुपमा उडान सुरु गरेको थियो ।  कम्पनीका अनुसार सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।  एयरबस हेलिकप्टमार्फत कम्पनीले चार्टर उडान, पर्वतीय उडान, उद्धार उडान, मेडेभ्याक उडान, तीर्थयात्रा उडान, फिल्मांकन उडान, चेसिङ उडान जस्ता विभिन्न हेलिकप्टर सेवा दिइरहेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड ७ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ६३ करोड १ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । कम्पनीले यसअघि ५१ करोड ५१ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको थियो ।  तर, कम्पनीले दीर्घकालिन ऋण भने घटाएको छ । यसअघि ३३ करोड ५५ लाख रुपैयाँ दीर्घकालीन ऋण लिएको कम्पनीले घटाएर २२ करोड ५ लाख रुपैयाँमा झारेको छ ।  केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालीन ऋणका लागि डबल बि प्लस र दीर्घकालीन ऋणका लागि एफोर प्लस रेटिङ प्रदान गरेको छ ।  गत कात्तिक १२ गते कम्पनीको हेलिकप्टर सोलुखुम्बुको लुबुचेमा दुर्घटनामा परेको थियो । हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको कम्पनीले जनाएको थियो ।  कम्पनीको कार्यकारी अध्यक्ष निमा नुरु शेर्पा रहेकी छिन् । शेर्पासँग पर्यटन/साहसिक पर्यटन व्यवसायमा तीन दशक भन्दा बढीको अनुभव छ । उनले नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपालको वरिष्ठ उपाध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ ।

शैक्षिक सत्र सुरु भएको सात महिना बितिसक्दा पनि अधिकांश विद्यालयमा विषय शिक्षकको अभाव

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकामा रहेको रुपादेवीका विद्यार्थीले शैक्षिकसत्र सुरु भएदेखि गणित विषय पढ्न पाएका छैनन् । गत जेठ महिनादेखि विद्यालयले शिक्षक खोज्दा पाउन सकेको छैन । संघीय सरकार अन्तर्गतको अनुदान कोटामा १८ पटक विज्ञापन गर्दा पनि शिक्षक नभेटिएको नरहरिनाथ गाउँपालिकाको शिक्षा शाखाका प्रमुख केशवराज खनालले बताए । पटक–पटक सूचना निकाल्दा पनि शिक्षक नपाउँदा विद्यार्थीले विषय पढ्न पाएका छैनन् ।  नरहरिनाथ गाउँपालिकाकै  नन्दादेवी कोटबाडमा पनि समस्या उस्तै छ । विद्यालयले विज्ञान विषयको शिक्षकका लागि सूचना निकाल्दा पनि शिक्षक भेटिन मुस्किल परेको छ । सूचना देखेपछि कतिपयले फोन गरेर बुझे पनि दरखास्त दिएर परीक्षा दिन कोही नआएको विद्यालयले बताएको छ ।  पालिकाको अनुदान कोटामा शिक्षक खोजी गर्दा नभेटिएको खनालले बताए । उनी भन्छन्, ‘हाम्रो पालिकाका दुई विद्यालयमा यस्तो समस्या छ, अन्य पालिकाका विद्यालयमा पनि यस्तै समस्या सुनेको छ, धेरै विद्यालयमा शिक्षक नपाएर विद्यार्थीले नपढेरै परीक्षा दिनुपर्ने बाध्यता छ ।’  कुनै पनि विषयका लागि अहिले पनि विद्यार्थी शिक्षक र विद्यालयकै भरमा परिरहेका हुन्छ् । विद्यार्थीको सोच विद्यालय गएर शिक्षकले पढाएपछि मात्र पढ्ने भन्ने हुन्छ । शिक्षा शाखा प्रमुख खनाल यही सोचले पनि विद्यार्थी विद्यालय आउँदा खेलेर समय बिताउँछन् तर आफै पढ्ने प्रयास समेत नगर्ने बताउँछन् । गणित अंग्रेजी बाहेकका विषय विद्यार्थीले आफै पनि पढ्ने प्रयास गर्नुपर्ने उनको भनाइ छ ।  विद्यार्थीमा आफैले पनि पढ्नुपर्छ भन्ने भावना छैन । स्कुलमा आएर त्यो पनि शिक्षकले पढाएर मात्र पढ्नुपर्छ भन्ने सोच विद्यार्थीको छ,’ उनी भन्छन्, ‘फेरि विज्ञान र गणित विषय शिक्षकले नबुझाएर विद्यार्थीले बुझ्न पनि सक्दैनन्, यो समस्या समाधान भएन भने विद्यार्थीले नपढेरै परीक्षा दिनुपर्ने बाध्यता हुने देखिन्छ ।’ शिक्षककै भरमा केन्द्रित हुने भएकाले विषयगत शिक्षक नहुँदा विद्यार्थीको पढाइमा समस्या हुने उनी बताउँछन् ।  किन पाइँदैनन् शिक्षक ?  नेपालमा विशेषगरी विज्ञान, गणित, अंग्रेजी विषयका शिक्षक ग्रामीण क्षेत्रमा पाउन गाह्रो पर्छ । शहरी क्षेत्रमा अन्य काम गर्दै एक घण्टाको लागि पढाइ दिने शिक्षक भेटिए पनि गाउँमा यस्तो व्यवस्था छैन ।  विद्यालयहरुका अनुसार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म विद्यालयमै बस्ने शिक्षक खोज्न तलब पुग्दैन । एकातिर कम पारिश्रमिक हुँदा भएका व्यक्ति पनि इच्छुक देखिदैनन् भने अर्कोतिर विषय केही महिना वा वर्षका लागि मागिएका कोटामा काम गर्न इच्छु हुँदैनन् ।  विज्ञान, गाणित, अंग्रेजी पढेका व्यक्ति धेरै भएपनि शहर बढी प्राथमिकतामा पर्दा ग्रामिण क्षेत्र रोजाइमा पर्न सक्दैनन् । विषयविज्ञ प्रयाप्त भए पनि करारको कोटामा गएर काम गर्न अनिच्छुक हुँदा समस्या भएको शिक्षकहरू बताउँछन् ।  ‘पालिकाले अनुदानमा राखेका शिक्षकको तलब १५ देखि २५ हजार छ । यो तलबमा विषय विज्ञ शिक्षकहरू पाउन गाह्रो हुन्छ । बाजुराको पशुपती माविका शिक्षक तुला थापा भन्छन्, ‘पढाउँदा घोक्रो सुकाइ पढाउनुपर्छ, पैसा पेटभरी खान आउँदैन यस्तो अवस्थामा गाउँमा बसेर पढाउन कोही इच्छुक हुँदैन ।’  करारको कोटामा केही समयको लागि किन काम गर्ने भन्ने मनसायले पनि योग्य व्यक्तिको रुचि यतातिर जान नसकेको उनी बताउँछन् ।   के गर्दैछ मन्त्रालय ? नेपालको शिक्षा क्षेत्र कस्तो छ, विद्यार्थी पढ्न पाइरहेका छन् वा छैनन् हेर्ने अधिकार शिक्षा मन्त्रालयको हो । विषय विज्ञ शिक्षक नहुँदा विद्यार्थी पढाइबाट बञ्चित रहेको विषयमा मन्त्रालय र मन्त्री पनि जानकार छन् । तर, कुनै पहल शिक्षा मन्त्रालयले पनि चाल्न सकेको छैन । दरबन्दी अनुसारका शिक्षक नहुँदा पढाइ प्रभावित हुँदै गएको विषय अहिलेको होइन ।  शिक्षा मन्त्रालय भने विद्यार्थीको पढाइलाई मध्यनजर गर्दै मन्त्रालयले काम गरिरहेको प्रतिक्रिया दिन्छ । शिक्षक अपुग भएका ठाउँमा अनुदानमा भए पनि कोटा छुट्याउने कामदेखि पढाइको गुणस्तर सुधारका लागि मन्त्रालयले आफै पढाउने कार्यक्रम गरिरहेको बताएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत एकदिनमा पाँच घण्टा शैक्षिक कार्यक्रम सुरु गरिरहेको बताएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख हरी निरौला विद्यार्थीलाई मध्यनजर गर्दै श्रव्य र दृश्यका सामग्रीहरू प्रसारण गरिरहेको बताउँछन्  । ‘नेपाल टेलिभिजन र रेडियो नेपालबाट विद्यार्थी केन्द्रित सिकाइ कार्यक्रम जारी राखेका छौं यो अहिलेमात्र होइन विगतका विर्षदेखि गर्दै आएका छौं, उनी भन्छन्,‘ बिहान र साँझको समयमा समसामयिक विषयमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छौं विद्यार्थीले यो कार्यक्रम नबिराइ हेर्ने र सुन्नेहो भनेपनि धेरै कुरा सिक्न सक्नुहुन्छ ।’ समग्र शिक्षामा कसरी लेख्ने भन्ने विषयमा विज्ञहरूले सिकाइरहेको सबै कक्षाको सबै पाठहरू युट्युवमा पनि राखेको भन्दै विद्यार्थीले हेर्न सक्ने निरौला बताउँछन् । निरौलाका अनुसार सिकाइ चौतारी एप सरकारले ल्याएको छ । त्यो एप डाउनलोड गरेरपनि त्यसमा धेरै कुरा हेर्नसक्ने उनको भनाइ छ ।  शिक्षकहरू भने मन्त्रालय शिक्षाका लागि गतिलो कदम चाल्नुपर्ने बताउँछन् । उनीहरू सरकारले आफ्नो जिम्मेवारी पूरा गरी गुणस्तरको जिम्मा शिक्षकलाई दिनुपर्ने बताउँछन् ।  शिक्षाको गुणस्तर हामी बनाउँछौं एकातिर विषयविज्ञ शिक्षक नहुनु र अर्कोतिर विद्यार्थीले पढाइबाट बञ्चित भइरहेको बेला शिक्षकहरू भने शिक्षा मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताइरहेका छन् । शिक्षाको गुणस्तरका लागि सबैभन्दा पहिले शिक्षकको व्यवस्थापन र शिक्षकलाई तालिमको आवश्यकता रहेको बताउँछन् ।  कपिलवस्तुको जनज्योति माविका शिक्षक विष्णुप्रसाद भण्डारी कक्षा कोठाभित्र जाने शिक्षकलाई सरकारले खुसी पार्न नसक्दा शिक्षा कमजोर भएको बताउँछन् । २०६० सालदेखि शिक्षकको पदोन्नती नभएको, बालविकासका शिक्षकले न्यूनतम पारिश्रमिक नपाइरहेको अवस्थामा शिक्षा गुणस्तर हुन नसक्ने बताउँछन् । विज्ञान, कम्प्युटर विज्ञान पढाइ हुने विद्यालयमा ल्याबको व्यवस्था कम्प्युटरको व्यवस्था छैन, बेलाबेला शिक्षकहरूलाई तालिम, प्रशिक्षणको व्यवस्था छैन । सरकारले यति मात्र गर्नसक्यो भने पनि नेपालको शिक्षा सोचेभन्दा राम्रो हुने उनको भनाइ छ । उनी राम्रो गर्ने शिक्षकलाई पुरस्कारको व्यवस्था र गलत गर्ने दण्डित गर्ने व्यवस्था पनि गर्नुपर्ने बताउँछन्  । ४०÷४१ वर्षसम्म आफ्नो विषयमा राम्रो नतिजा ल्याइरहेका धेरै शिक्षक हुँदा पनि सरकारले कुनै कार्यक्रममा सम्मानित गर्न नसकेको भन्दै सरकारले रिवार्ड र पनसिमेन्टको कार्यक्रम ल्याउनुपर्ने बताए । ‘शिक्षाको क्षेत्रमा मन्त्रालयले यति काममात्र गरिदिने हो भने शिक्षाको गुणस्तर कस्तो बनाउनपर्छ भन्ने कुरा शिक्षकले देखाउछन्,’ उनी भन्छन्, ‘शिक्षालाई गुणस्तर बनाउन सरकार, शिक्षक, अभिभावक र विद्यार्थी सबैले लाग्नुपर्छ ।’ उनी शिक्षकले भनेका कुरा सबैकुरा गरिसकेपछि शिक्षाको गुणस्तरको जिम्मा शिक्षकलाई दिनुपर्ने उनी बताउँछन् ।  चिन्तामा विद्यार्थी शिक्षामा सरकार र शिक्षकबीच एक किसिमको द्वन्द्व जस्तै छ । पटक–पटक विद्यालयको पढाइ छोड्दै सडकमा आएका शिक्षक र उनीहरूका माग पूरा गर्न पन्छिदै आएको सरकारको दोहोरो टकरावले विद्यार्थीहरू मारमा परेका छन् । विगतका वर्षका नतिजाले आलोचना खेपेको सरकारले एक वर्षमा नतिजा सुधार गर्ने प्रतिवद्धता गरेसँगै गएको वर्ष केही नतिजा सुधार भएको थियो ।  अघिल्लो वर्ष ४८ प्रतिशत विद्यार्थी एसईई पास भएकोमा गत वर्ष ६२ प्रतिशत विद्यार्थी एसईई पास भएका थिए । तर यो पटक भने नतिजा खसक्ने डरमा शिक्षा क्षेत्रमा सरोकार राख्नेहरू बताउँछन् ।  शिक्षक आन्दोलन करिब दुई सातादेखि सुरु भएको पढाइ कार्यक्रमबीचमा दशैं तिहार र जेनजी आन्दोलनले केही प्रभावित भए । अहिले सुरु भएका विद्यालयमा पढाइ आधा जस्तो पनि भएको छैन । फागुन २१ गते निर्वाचन गराउने पक्षमा अहिलेको अन्तरिम सरकार लागेको छ । चुनावले पनि केही दिन पढाइ प्रभावित हुने देखिन्छ । निर्वाचनमा खटिने कर्मचारी अधिकांश शिक्षक र निर्वाचन हुने ठाउँ पनि विद्यालय नै तोकिने भएकाले पढाइ प्रभावित हुने निश्चित छ । पटक–पटक देशमा हुने आन्दोलनको प्रभाव विद्यार्थी र समग्र शिक्षामा परेको देखिन्छ ।   

दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि आइएमटीए र एभरेष्ट अलायन्स नेपालबीच साझेदारी

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदानका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनको गुइझोउ प्रान्तमा भएको उक्त सम्झौता कार्यक्रमले विश्वव्यापी पर्वतीय पर्यटनको दिगो विकासमा नयाँ सहकार्यको ढोका खोलेको छ। तीन वर्षका लागि गरिएको सम्झौताअनुसार दुबै संस्थाले पर्वतीय पर्यटनलाई वातावरणमैत्री र समुदायमुखी बनाउन सँगै काम गर्ने भएका छन्। अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ विश्वकै पहिलो अन्तर्राष्ट्रिय संस्था हो जसले पर्वतीय पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको छ। नेपालमा आधारित एभरेस्ट एलायन्सले भने हिमाली क्षेत्रमा दिगो पर्वतारोहण, वातावरण संरक्षण र स्थानीय समुदाय सशक्तीकरणमा काम गर्दै आएको छ। सम्झौताअनुसार पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुबै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन्। पर्वतारोहणमा जिम्मेवार अभ्यास प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सीपमूलक तालिम र नेतृत्व विकासमा जोड दिने योजना पनि समझदारीमा समावेश छ। सम्झौताअन्तर्गत पर्वतारोही, प्रशिक्षक र प्राविधिक विशेषज्ञबीच आदानप्रदान हुनेछन् भने संयुक्त उद्धार प्रदर्शन, नेतृत्व तालिम तथा सुरक्षा तालिम आयोजना गरिनेछ। साथै, अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, सांस्कृतिक महोत्सव, साहसिक प्रतियोगिता र सम्मेलनहरूमा पनि संयुक्त सहभागिता रहनेछ। वातावरणीय संरक्षणलाई प्रमुख प्राथमिकता दिँदै दुवै संस्थाले फोहोर व्यवस्थापन, पदमार्ग सरसफाइ र सचेतना अभियान सञ्चालन गर्ने सहमति गरेका छन्। जलवायु परिवर्तन, जैविक विविधता र दिगो पर्यटनसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ।सम्झौता हस्ताक्षर कार्यक्रम अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेल सम्मेलन २०२५ अन्तर्गत सम्पन्न भएको हो। चीनको गुइयाङ सहरमा ‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरण : उच्च गुणस्तरीय जीवन’ भन्ने नारामा सम्पन्न उक्त सम्मेलनमा ३० देशका झन्डै ३५० प्रतिनिधिको सहभागिता रहेको थियो।