स्वास्थ्यकर्मीमाथि परेको मनोवैज्ञानिक असर र श्रम शोषणको अन्त्य गर्न स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघको युवा समितिले स्वास्थ्यकर्मीमाथि परेको मनोवैज्ञानिक असर र श्रम शोषणको अन्त्य गर्न स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ ।  स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको हक हितका लागि क्रियासित संघले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा  शर्मालाई भेटी ध्यानाकर्षण गराएको हो ।  स्वास्थ्य क्षेत्रका वर्तमान समस्या तत्काल सम्बोधन नभए अवस्था भयावह हुनसक्ने भन्दै युवा समितिले तत्काल गर्नुपर्ने मागहरू लिखितरूपमा मन्त्रीलाई बुझाएको छ । जहाँ तत्काल जेनजी आन्दोलनको मनोवैज्ञानिक असर तथा श्रम शोषणको अन्त्य गर्नुपर्ने, हाल चलिरहेको नर्सिङ आन्दोलनको सम्बोधन गरिनुपर्ने उल्लेख गरिएको छ ।  यस्तै समितिले निजी स्वास्थ्य संस्थामा राजनैतिक लगानी र यसको असरबारे ध्यान दिनुपर्ने र करार प्रशासन र दैनिक ज्यालादारी कर्मचारीको माग सम्बोधन गरिनुपर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको हो । संघले यो निर्णय तत्काल पुरा नभए आन्दोलन गर्न बाध्य हुने पनि जनाएको छ ।  समितिले मन्त्रीलाई ७ बुँदे माग सुझाव पनि सँगै बुझाएको छ । संघले आफूहरू राखेका माग मंसिर २७ गतेभित्र पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । यसको सबै जिम्मेवारी मन्त्रालयले लिनुपर्ने समितिले जनाएको छ ।  

एनआईसी एशिया बैंकका ग्राहकका लागि होटल क्राउन इम्पेरियलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सेवा लिँदा छुट पाउने भएका छन् । बैंक र होटलबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएपछि यो सुविधा लागू भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटल क्राउन इम्पेरियलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (मोबाइल बैंकिङ एप) मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई विशेष छुटको सुविधा उपलब्ध हुनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

एनपीएलका सबै खेल ‘डिशहोम गो’ एपमार्फत प्रत्यक्ष हेर्न सकिने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू सो एपमार्फत लाइभ प्रशारण गरिने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटी प्रसारण अधिकार ‘डिश मिडिया नेटवर्क’ लाई प्रदान गरेको हो । क्यानका अनुसार दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ । नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मिडल इस्ट क्षेत्रका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ । यसपटक दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि क्यानले जनाएको छ । ‘डिशहोम गो’ एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ संस्करणको एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनभित्र सार्वजनिक हुनेछ । उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न ‘डिशहोम’ ले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । मोबायोटिक्स बहुप्रयोगकर्ता–मैत्री अनलाइन स्ट्रिमिङ प्रणाली निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यसले तयार पारेको प्लेटफर्ममार्फत बंगलादेश र भारतबीचको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए । त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आइपिएलको डिजिटल प्रसारण सम्भव बनाउँदै आएको छ । अकामाईले विश्वभरका सर्भरमार्फत सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्‍याउने काम गर्छ ।