एनसेलले यसपटक पनि एनपीएलका हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकावापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।  गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २ हजार ६१२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो ।  गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २ हजार ६१२ सहित एनसेलले देशभरका ९ हजारभन्दा बढी विद्याथीहरूलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ ।  क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ ।  विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरू जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ । एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ । यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शनमार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्याउने विश्वास लिइएको छ  ।

सोलुमा जहाज टिकटको संकट : सर्वसाधारणले पावरबिना टिकट पाउन मुस्किल

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौं जानुपर्ने बाध्यता आयो । अत्यावश्यक काम परेपछि उनले फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरेर टिकट मागे, तर जवाफ फेरि–फेरि एउटै रह्योस् 'टिकट छैन ।' यही अनुभवले कार्की मात्र होइन, समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको विमान सेवासँगको वर्तमान अवस्था स्पष्ट गरेको छ । अन्ततः कार्की सडकमार्ग रोज्न बाध्य भए । स्थानीय सल्लेरीका रश्विन मगरले भने, 'यो व्यक्तिगत समस्या मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, पहुँचवाला व्यक्तिको नियन्त्रणमा र सर्वसाधारणविरोधी बनेको छ भन्ने यथार्थ हो ।' हाल फाप्लु–काठमाडौं उडान हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) मात्रै संचालनमा छन् । निजी क्षेत्रका कम्पनीहरूले व्यस्तता र अनुकुलता नदेखाइ उडान तालिका हटाउँदा स्थानीयहरू नेपाल एयरलाइन्समै निर्भर हुन बाध्य छन् । तर सामान्य नागरिकले टिकट माग्दा 'छैन' भन्ने जवाफ पाउँछन्, जबकि उच्च पदस्थ वा पहुँचवाला व्यक्तिले तुरुन्तै टिकट पाउँछन् । सोलुकै सन्देश राईले भने, 'काठमाडौंबाट सोलु आउँदा सहज छ, तर सोलुबाट काठमाडौं जानु भनेको फलामको चिउरा चपाएसरह हो । विदेशी पर्यटकलाई प्राथमिकता दिने कारणले सामान्य यात्रुलाई सिट दिन समस्या हुन्छ ।' नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज तेन्जी शेर्पाले भने, 'विदेशी पर्यटकलाई प्राथमिकता दिनुपर्छ ।' स्थानीयहरूले भने विमान टिकट पाउन 'पावर' वा पहुँचवाला आफन्तको सहायताको आवश्यकता पर्नुलाई गम्भीर समस्या मान्छन् । यसबारे गुनासो काठमाडौंको ट्राभल्स एजेन्सीमा समेत आइरहेको छ । सोलुखुम्बु पर्यटनको आधार र सगरमाथाको प्रवेशद्वार भएकाले यहाँ हवाई टिकट जस्तो आधारभूत सेवा प्राप्त गर्न पावर आवश्यक पर्नु प्रशासनिक कमजोरी मात्र नभई सरकारले सम्बोधन गर्नुपर्ने नागरिक समस्या भएको स्थानीयहरूले जोड दिएका छन् ।

हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

अदानचुली । हुम्लाबाट सञ्चालन हुने तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने माग राखेर तालाबन्दी गरिएको थियो । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शिता नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा समस्या आएको भन्दै तालाबन्दी गरेका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय बैठकपछि ताला खोलिएको छ । बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । त्यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक–एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलायन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको छ । सिमकोट गाउँपालिका–५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सबै उडानमा लागु हुनेछ । रासस