चिकित्सकमाथि सांघातिक आक्रमण, दोषीमाथि कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा खटिएका चिकित्सकमाथि बिरामीका आफन्तसहितको समूहले सांघातिक आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल चिकित्सक संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत २०८३ साल असोज १ गते जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा कार्यरत रहेका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. सरोज साहमाथि बिरामीका आफन्तलगायतको समूहले सांघातिक आक्रमण गरेको जनाएको हो ।

संघका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीले देशका विभिन्न स्थानमा स्वास्थ्य सेवामा समर्पित भएर काम गरिरहेका बेला समय–समयमा हुने यस्ता आपराधिक घटनाले उनीहरूको पेशागत सुरक्षा तथा आत्मसम्मानमा गम्भीर आघात पुग्ने गरेको छ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा आतंक फैलाउने गरी घटाइएका यस्ता अमानवीय घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको छ ।

संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसा र आक्रमणका घटनाले स्वास्थ्य सेवा प्रवाहमै असर पार्ने भन्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा. विश्व राज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको माग गरिएको छ । 

Share News