‘विद्यार्थीलाई ढाल बनाएर सत्तामा पुग्ने राजनीति भयो, उद्धार माग्नु राजनीतिकरण होइन’ : शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङमाथि जेनजी आन्दोलनलाई राजनीतिक रूपमा उपयोग गरेर राज्यसत्तामा पुगेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले मुगुका गणेश नेपालीको आत्मदाहपछिको मृत्यु तथा कर्णालीमा उद्धार अभावका विषय उठाउँदा सरकारले त्यसलाई राजनीतिकरणको संज्ञा दिएको भन्दै आपत्ति जनाए । उनले जनताको ज्यान जोगाउन सरकारसँग प्रश्न उठाउनु राजनीतिकरण नभई सरकार स्वयंले आन्दोलन र जनभावनालाई सत्तामा पुग्ने माध्यम बनाएको दाबी गरे । ‘मानिसले आत्महत्या किन गर्नुपर्यो? कर्णालीका भिरमा अड्किएका नागरिकको समयमै उद्धार किन भएन ? हेलिकोप्टर किन पठाइएन ? यस्ता प्रश्न उठाउँदा गृहमन्त्रीले राजनीतिकरण भयो भन्नुहुन्छ,’ शाहीले भने, ‘वास्तविक राजनीतिकरण भनेको आफू पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधि हो। भिरमा अड्केका मानिसको उद्धार गर भन्नु राजनीतिकरण होइन ।’ शाहीले गृहमन्त्रीले जेनजी आन्दोलनका क्रममा आफू पानी वितरण गर्न मात्र गएको बताएका प्रसंग स्मरण गराउँदै त्यसबेला विद्यार्थीलाई आन्दोलनको अगाडि उभ्याइएको आरोप लगाए । उनले अघिल्लो समयमा संसदको विरोध गर्नेहरू अहिले त्यही संसदबाट निर्वाचित भएर आएको भन्दै त्यसलाई पनि राजनीतिकरणको उदाहरणका रूपमा प्रस्तुत गरे । ‘संसद भवन चाहिँदैन भनेर आगो लगाउनेहरू पछि त्यही संसदको चुनाव लड्न आउँछन् । आफू पदमा नहुँदा नेताको तलब, गाडी र सुरक्षाकर्मी हटाउनुपर्छ भन्ने, तर पदमा पुगेपछि सुरक्षाकर्मीको लावालस्करसहित हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ,’ उनले भने । शाहीले प्रतिपक्षी नेताका घर तथा सञ्चारमाध्यमका कार्यालयअगाडि सवारी साधन पार्किङ गराएर त्यसलाई सर्वसाधारणको गतिविधि जस्तो देखाउने प्रयास भएको आरोप पनि लगाए । उनले कर्णाली क्षेत्रमा भिरमा अड्किएका नागरिकको उद्धार गर्न माग गर्दा सरकारले ‘डनगिरी’ शैलीमा व्यवहार गरेको टिप्पणी गर्दै पछि संसदको रोस्ट्रममा उभिएर भावुकता प्रदर्शन गर्नु ‘नाटक भएको आरोप लगाए ।
मिडिया र नेताका घरमा सवारी तेर्साएर त्रास फैलाउनेलाई कारबाही गरियोस् : ठगुन्ना
काठमाडौं । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले मिडिया संस्था तथा राजनीतिक नेतृत्वका कार्यालय र निवास अगाडि सवारी साधन तेर्साएर मानसिक त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबार (आज) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो गतिविधि सामान्य देखिए पनि त्यसले विगतको राज्य आतंकको स्मरण गराउने खालको सन्देश दिएको बताए । ‘हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यालय तथा घर अगाडि सवारी साधन तेर्साएर मानसिक त्रास फैलाउने काम भयो। हेर्दा यो सानो र सांकेतिक घटना जस्तो देखिए पनि यसले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवाती झझल्को सम्झाइदिन्छ,’ उनले भने, ‘त्यसैले यस घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ ।’ ठगुन्नाले पछिल्लो समय राज्य संयन्त्र पूर्वाग्रह र प्रतिशोधको भावनाले परिचालित भएको आरोप पनि लगाए । पर्याप्त अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा अभियोजन चलाउनुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दर्ता गरेर पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान गर्ने प्रवृत्ति बढेको उनको टिप्पणी थियो । उनले श्रमजीवी वर्ग र बेरोजगार युवाप्रति सरकारको व्यवहार उचित नभएको उल्लेख गर्दै निष्पक्ष र कानुनसम्मत ढंगले राज्य संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अपनाएको व्यवहारप्रति समेत असन्तुष्टि जनाउँदै उनीहरूको समस्या समाधानमा संवेदनशील र मानवीय दृष्टिकोण अपनाउन आग्रह गरे।
संसदमा विपक्षीको अवरोध यथावत
काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गत जेठ १७ गते दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले पुनः विरोध गरेका हुन् । प्रधानमन्त्री बालेनले उक्त दिन नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड)बाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याएका छन् । माग पूरा नभएसम्म संसदको कारबाही सहज रूपमा अघि बढ्न नदिने अडान विपक्षी दलहरूको छ ।