काठमाडौं । प्रधानमन्त्री बालेन शाह मंगलबार प्रतिनिधिसभा बैठकमा एक्कासि उपस्थित भए पनि केही बेर कसेर संसद् भवनबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँगै संसद् बैठकमा पुगेका थिए ।
प्रधानमन्त्री शाह र रवि बैठकमा छोटो समय मात्रै बसेर बाहिरिएका हुन् । उनले संसद्मा कुनै सम्बोधन गर्ने वा अन्य कार्यसूची नरहेको संसद् सचिवालयले जनाएको छ ।
यसअघि जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह संसद् बैठकमा नियमित रूपमा उपस्थित भएका थिएनन् । त्यसयता लगातार अनुपस्थित रहेका उनी मंगलबार अचानक संसद् भवन पुगेपछि सांसदहरूको ध्यान उनीतर्फ केन्द्रित भएको थियो ।
पछिल्ला केही बैठकमा प्रधानमन्त्री अनुपस्थित रहँदै आएको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको र बैठक छल्ने प्रवृत्ति देखिएको भन्दै उनीहरूले निरन्तर प्रश्न उठाउँदै आएका थिए ।
यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको आजको उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिए पनि उनी छोटो समयमै बैठकबाट बाहिरिएपछि त्यसले थप चासो बढाएको छ । उता, रास्वपा सभापति लामिछानेले भने प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी गरेका छन् ।