प्रधानमन्त्रीले माफी नमागेसम्म विरोध जारी राख्ने अडान
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन् । बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा उपस्थित भएर विवादित अभिव्यक्तिप्रति माफी नमागेसम्म विपक्षीहरूको विरोध जारी रहने स्पष्ट पारेका हुन् । नेताहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने र आवश्यक स्पष्टीकरणसहित माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट त्यसो नभएसम्म सदनको अवरोध हट्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले केही दिनयता संघीय संसद्का दुवै सदनमा विरोध जनाउँदै आएका छन् । यही विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुटाउने प्रयास जारी रहे पनि हालसम्म निष्कर्ष निस्कन सकेको छैन ।
सर्वदलीय बैठक निष्कर्षविहीन, विपक्षीको विरोध कायमै रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । संसद्को गतिरोध अन्त्य गर्ने उद्देश्यले बोलाइएको बैठकमा सहमति जुट्न नसकेपछि विपक्षी दलहरूले प्रतिनिधिसभामा जारी विरोधलाई निरन्तरता दिने भएका छन् । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेको विषय संसदमै आएर निराकरण हुनुपर्ने अडान विपक्षी दलहरूको रहेको बताए । उनले उक्त विषयको समाधान नभएसम्म सदनको अवरोध हट्न नसक्ने स्पष्ट पारे । महरका अनुसार बैठकमा विभिन्न विकल्पबारे छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन । अब आ–आफ्ना दलभित्र थप परामर्श गर्ने गरी बैठक सकिएको उनले जानकारी दिए । सहमति नजुटेपछि विपक्षी दलहरूले प्रतिनिधिसभामा आफ्नो विरोध कार्यक्रमलाई निरन्तरता दिने भएका छन् । यससँगै संसद्को नियमित कार्यसूची प्रभावित हुने देखिएको छ ।
उता सर्वदलीय बैठक, यता बैठकको पर्खाइ
काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार (आज) ११ बजेबाट सुरु हुने भनिए अझैसम्म सुरु हुन सकेको छैन । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसिरहेकाले बैठक सुरु हुन नसकेको हो । उता संसद्को जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप प्रमुख राजनीतिक दलहरूबीच छलफल चलिरहँदा यता प्रतिनिधि सभाको बैठक कक्षमा सांसदहरूले बैठक सुरुवातको प्रतीक्षा गरेर बसेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू सहभागी छन् । वैठकमा उपस्थित एक नेताका अनुसार प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक गतिरोध अन्त्यगरी संसद् सञ्चालनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको छ । ती नेताले भने, ‘अन्तिम घडीमा आएर विवाद मिलाउने प्रयास हुँदा उता प्रतिनिधि सभाको वैठक बस्न ढिलाई भइरहेको छ ।’ सर्वदलीय बैठकबाट सहमति ननिस्किएसम्म सदनको कार्यवाही अघि बढ्ने सम्भावना न्यून देखिएको छ । प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । सोही विषयमा सहमति खोज्न संवाद तीव्र बनाइएको हो ।