काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले सामाजिक सञ्जालमा निरन्तर ट्रोल र चरित्रहत्याको प्रयासका कारण आफू मानसिक रूपमा विक्षिप्त बनेको र दुईपटक आत्महत्याको प्रयाससम्म गरेको खुलासा गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थपलियाले आफू र कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संसद्मा एउटै विषय उठाएको भन्दै सामाजिक सञ्जालमा गरिएको आलोचनाप्रति स्पष्टीकरण दिइन् । सरकारले जनताका मुद्दा नसुनेसम्म एउटै विषय धेरै सांसदले पटक–पटक उठाउनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
उनले सरकारलाई दबाब दिन अपनाइएको संसदीय शैलीलाई गलत रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी ट्रोल बनाइएको आरोप लगाइन् ।
‘त्यो अवधिमा २४ घण्टा नबित्दै तीन जना युवाले आत्मदाह गरेको घटना सामान्य थिएन । सरकारले कुरा नसुनेपछि हाम्रो शैली फरक थियो । सरकारले काम नगरेसम्म एउटै विषय दुई जनाले मात्रै होइन, सयौँ सांसदले पनि उठाउन सक्छन्,’ उनले भनिन् ।
सांसद थपलियाले सामाजिक सञ्जालमा भएको निरन्तर आक्रमणले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर परेको बताइन् ।
‘यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा मलाई ट्रोल बनाइयो । त्यो ट्रोल सहन नसकेर म विक्षिप्त भएकी थिएँ । यो अवधिभर मैले दुईपटक आत्महत्याको प्रयास गरेँ,’ उनले भावुक हुँदै भनिन् ।
सामाजिक सञ्जालको प्रयोग र त्यसको दुरुपयोगबारे समाजले आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले महिलामाथि हुने सार्वजनिक आलोचना र चरित्रहत्याप्रति पनि प्रश्न उठाइन्।
‘सामाजिक सञ्जाल कस्तो हुँदैछ, हामी कस्तो बनाउँदैछौँ भनेर आफैँ मूल्याङ्कन गरौँ। सत्ययुगकी सीतादेखि कलियुगकी सीतासम्मले यो समाजमा कति पटक अग्निपरीक्षा दिनुपर्छ ? म त्यसका लागि तयार छु,’ उनले भनिन्।