सदनमा मौन, बाहिर प्रधानमन्त्रीको बचाउ गर्दै बोले रवि

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र साहसँगै उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदनमा एक शब्द पनि बोलेनन् । 

तर संसद् भवनबाट बाहिरिएलगत्तै उनले सञ्चारकर्मीमाझ प्रधानमन्त्रीको बचाउ गर्दै संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले उपयुक्त समयमा दिने दावी गरे ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री साह लामो अन्तरालपछि उपस्थित भएका थिए । प्रधानमन्त्रीसँगै सदनमा प्रवेश गरेका लामिछाने करिब २० मिनेटपछि प्रधानमन्त्रीसँगै बाहिरिएका थिए । 

विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ मागिरहेका बेला दुवै नेताले सदनमा कुनै सम्बोधन नगरेपछि राजनीतिक रूपमा त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

संसद् भवन परिसरमा सञ्चारकर्मीले आफू किन नबोलेको भन्ने जिज्ञाशामा लामिछानेले हरेक बैठकमा सबै सांसदले बोल्नैपर्ने बाध्यता नरहेको बताए । 

उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै उठाइएका प्रश्नबारे भने, ‘प्रधानमन्त्रीले आवश्यक परेको बेला सदनमा उठेका सबै प्रश्नको जवाफ दिनुहुन्छ ।’

प्रतिपक्षले सरकारमाथि विभिन्न विषयमा जवाफदेहिताको दबाब बढाइरहेका बेला प्रधानमन्त्री र सत्ताढ दलका शीर्ष नेताले सदनमा मौनता रोज्नु र त्यसपछि बाहिरबाट मात्रै प्रतिक्रिया दिनुलाई संसद्को भूमिकामाथि थप बहसको विषय बनाएको छ ।

Share News