काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको दबाब र त्रास सिर्जना गर्ने गतिविधि लोकतन्त्रविरुद्ध भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै परियारले राजधानीका अग्रणी सञ्चारगृहहरूको मुख्य प्रवेशद्वारमा गाडी तेर्साएर आवतजावत अवरुद्ध पारिएको घटनाको भर्त्सना गरे।
उनले कसैको नाम नलिए पनि सत्ताको आडमा प्रेसमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति अस्वीकार्य रहेको बताए ।
‘हामी सत्तामा छौँ भन्दैमा वा कसैका स्वार्थ ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्,’ उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेसको प्रतिरक्षा गर्न हामी अग्रसर नभए अरू को बोल्छ ?’
परियारले नेपाली प्रेसले विगतमा बन्दुकको त्राससमेत सामना गरेको स्मरण गराउँदै केही सवारीसाधन तेर्साएर सञ्चारमाध्यमलाई तर्साउन नसकिने बताए ।
‘बन्दुकसँग नडराएको नेपाली प्रेस दुई–चारवटा गाडी तेर्साउँदैमा डराउँदैन,’ उनले भने ।
रास्वपा पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको पक्षमा रहेको दोहोर्याउँदै परियारले सत्यलाई दबाउने प्रयास कहिल्यै सफल नहुने बताए ।
‘हिजो राजधानीमा अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमै गाडी पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पार्ने र सञ्चारगृहलाई तर्साउने कुत्सित प्रयास गरियो। म यसको कडा शब्दमा भर्त्सना गर्दछु,’ उनले भने, ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो ।