नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए शपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायण कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई आइतबार (आज) कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले शपथ गराएकी हुन् । कँडेल आजै महान्यायाधिवक्तामा नियुक्त भएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । को हुन् उनी ? कँडेल पूर्वपत्रकार हुन् । २०५० को दशकमा बागलुङबाट पत्रकारिता गरेका उनले त्यसबेला रेडियो नेपालका लागि काम गर्थे । उनले करिब एक दशकभन्दा बढी समय विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । २०६० सालपछि भने कँडेल वकालत पेसातिर लागे । उनले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन् भने बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका छन् । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । महान्यायाधिवक्ताले सरकारवादी मुद्दाहरूको अभियोजन र बहस पैरवी गर्दछ । 

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ । आइतबार (आज) सुनुवाइ नसकिएपछि सोमबार (भोलि)का लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।  ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । शाक्यको रिटमा पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी छ । त्यस्तै, लेखकलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ ।  गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखक पक्राउ परेका हुन् । उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो ।  मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने कसुर’ छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।  दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । 

रविले नवनियुक्त सभामुख अर्याललाई दिए बधाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएकोमा बधाई दिएका छन् ।  लामिछानेले व्यक्तिगत तथा पार्टीको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । अर्याल सर्वसम्मत निर्वाचित भएपछि सभापति लामिछानेले सबै दल र सांसदहरूको सहयोगप्रति धन्यवाद जनाएका छन् । रास्वपाको प्रस्ताव सर्वसम्मत रूपमा पारित हुँदा प्रस्तावक लामिछानेसहित स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोबिता गौतमले अर्याललाई समर्थन गरेका थिए ।  सभापति लामिछानेले नवनिर्वाचित सभामुख अर्यालले निष्पक्षता, पारदर्शिता र संसदीय मर्यादा कायम राख्दै सदनलाई प्रभावकारी बनाउने जनाएका छन् ।  सभापति लामिछानेले यसअघि ज्येष्ठ सदस्यका रूपमा सदन सञ्चालन गरेका अर्जुननरसिंह केसीलाई समेत धन्यवाद दिइएका छन् । यस्तो छ बधाई तथा शुभकामना : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति श्री डोलप्रसाद अर्याल व्यवस्थापिकाको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएकोमा म व्यक्तिगत रूपमा तथा पार्टीको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। रास्वपाको तर्फबाट प्रस्तुत उक्त उम्मेदवारीलाई प्रतिनिधि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रस्तावकका रूपमा मैले तथा समर्थकहरू डा। स्वर्णिम वाग्ले, श्री सुनिल लम्साल र श्री सोबिता गौतमले समर्थन गरेको प्रस्तावलाई निर्विरोध रूपमा पारित गरी निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ। नवनिर्वाचित सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु। साथै, सबै राजनीतिक दल तथा माननीय सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने उहाँको दृष्टिकोण सराहनीय छ। सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो। यस ऐतिहासिक अवसरमा, सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।  साथै, ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाउनु हुने माननीय अर्जुननरसिंह केसीज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।