काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै राज्य संरचनालाई चुस्त र प्रभावकारी बनाउने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय कटौतीसहित नयाँ संरचनाको खाका पेश गरिएको सरकारी स्रोतले जनाएको छ ।
प्रस्तावअनुसार सरकारले चारवटा मन्त्रालय खारेज गर्ने योजना अघि सारेको छ । खारेज गरिने मन्त्रालयहरूमा युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय तथा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय रहेका छन् ।
यी मन्त्रालयका जिम्मेवारीहरू पुनःसंरचना गरी अन्य मन्त्रालय वा निकायमा समायोजन गरिने बताइएको छ ।
सरकारले मन्त्रालय संख्या घटाएर प्रशासनिक खर्च नियन्त्रण गर्नुका साथै निर्णय प्रक्रियालाई छिटो, प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्य राखेको बताएको छ ।
पछिल्लो समय सरकारी संरचना ठूलो र खर्चिलो बन्दै गएको भन्दै त्यसलाई पुनःसंरचना गर्नुपर्ने बहस भइरहेका बेला सरकारले यो कदम चालेको हो ।
यस्तै प्रस्तावित खाकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अझ शक्तिशाली बनाउने व्यवस्था समावेश गरिएको छ । प्रशासनिक समन्वय, कर्मचारी व्यवस्थापन तथा नीतिगत निर्णय प्रक्रियालाई केन्द्रित गर्दै प्रधानमन्त्री कार्यालयको भूमिका विस्तार गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।