कानुनमन्त्री गौतम र कोरियाली राजदूतबीच भेटवार्ता, न्याय प्रणालीको डिजिटल रूपान्तरणमा सहकार्य हुने

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताययोङले शिष्टाचार भेटघाट गरेका छन् । मन्त्रालयमा भएको उक्त भेटमा राजदूत ताययोङले मन्त्री गौतमलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिए । भेटका क्रममा दुई देशबीचको कुटनीतिक सम्बन्ध र न्याय क्षेत्रमा भइरहेका आपसी सहकार्यका विषयमा विस्तृत छलफल भएको छ । विशेषगरी नेपालको न्याय प्रणालीलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन र यसलाई आधुनिक एवं प्रविधिमैत्री बनाउन डिजिटल रूपान्तरणका क्षेत्रमा भइरहेका साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

मल आपूर्तिका लागि मन्त्री चौधरीले बढाइन् सक्रियता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिको विषयलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयसँग आपूर्तिको पहल गरेकी छन् ।  मन्त्री चौधरीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै मल आपूर्तिमा देखिएको समस्या समाधानका लागि कुटनीतिक पहल गरेकी हुन् ।  पश्चिम एसियामा देखिएको संकटका कारण आपूर्ति व्यवस्थापन सहज गर्नका लागि उनले पहल गरेकी हुन् ।  मौज्दात भएको रासायनिक मलको व्यवस्थापनका लागि मन्त्रालयले सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ । हालसम्म सरकारसँग करिब असारसम्म पुग्ने मल मौज्दात छ ।  मन्त्री चौधरीले थप १ लाख ५० हजार मेट्रिक टन मल जी–टु–जी माध्यमबाट खरिद गर्ने निर्णय गरिसकेकी छन् । मन्त्रिस्तरीय निर्णय (२०८२ चैत १९) अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय अघि बढाइएको छ ।  नेपालस्थित भारतीय दूतावाससँग पनि सम्पर्क गरी प्रक्रिया अगाडि बढाइएको छ । यसैबीच वैकल्पिक व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि पहल भइरहेको छ ।

संसद् अधिवेशन स्थगित

काठमाडौं । सरकारले संघीय संसद् अधिवेशन स्थगनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार नै संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।  यसअघि पनि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार अपरान्ह २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । तर, पछिल्लो निर्णयसँगै उक्त अधिवेशन स्थगित भएको छ । सरकारले अधिवेशन स्थगन गर्नुको कारण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । संसदीय मामलाका विज्ञहरूका अनुसार नेपालको संसदीय इतिहासमा आह्वान भएको संसद स्थगन भएको पहिलो पटक हो ।