केयुकेलको अध्यक्षमा घनश्याम भट्टराई
काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का अध्यक्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवम् लिमिटेड सञ्चालक समितिका सदस्य घनश्याम भट्टराई नियुक्त भएका छन् । समितिको बिहीबार बसेको बैठकले सर्वसम्मतरुपमा भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सो मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतले पदबाट दिएको राजीनामा समितिको बोर्डले स्वीकृत गर्दै रिक्त पदमा सहसचिव भट्टराईलाई नियुक्त गरिएको हो । रासस
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल केसी नियुक्त भएका छन् । मंगलबार बैंकमै आयोजित एक कार्यक्रममा अध्यक्ष पवनकुमार गोल्याणले केसीलाई पद बहालीको लागि सपथ ग्रहण समेत गराएका छन् । बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा रही कार्य गर्दै आएका केसी बिगत ८ बर्ष देखि एनएमबि बैंक सँग आवद्ध छन् । २७ वर्षे बैकिङ्ग अनुभव संगालेका केसी बैकिङ्ग क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा केसीको महत्व पुर्ण योगदान रहेको बैंकले जनाएको छ । मंगलबार कार्यकाल सम्हाल्दै केसीले भने-“ बैंकलाई नाफा मात्र नभई हरेक प्रकारले उत्कृष्ट बैंक बनाउने मेरो उद्देश्य रहेको छ । बैंकले आफ्नो रणनीति अनुरुप, नाफा मात्र आधार नबनाई स्थानीय समुदायमा समेत लगानी गर्नेछ तथा आत्मनिर्भर नेपालका लागि सर्मपित रहदै कार्यहरु गर्ने छ । ”
पशुपक्षी विकास मन्त्रालयमा श्रीप्रसाद जगेबु, प्रधानमन्त्रीद्धारा राज्यमन्त्रीको कार्यभार प्रदान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहेएका श्रीप्रसाद जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार प्रदान गरेका छन्। प्रधानमन्त्रीले सोमबार राज्यमन्त्री जगेबुलाई सो मन्त्रालयको सम्पूर्ण कार्यभार सञ्चालन गर्ने गरी जिम्मा दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपप्रधानमन्त्रीको हैसियतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यभार सम्हालेपछि राज्यमन्त्री जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको जिम्मा दिएका हुन् । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रधानमन्त्रीले गृहराज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । सो मन्त्रालयमा राप्रपाका दिलनाथ गिरी मन्त्री भएर आएका र राज्यमन्त्रीमा सोही पार्टीका परशुराम तामाङ मन्त्री भएर आएपछि राज्यमन्त्री बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । रासस