सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त

काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तामाङलाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । सोही, बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका अम्बिर बोगटीको राजीनामा स्वीकृत गरेको छ ।  

आरविवि मर्चेन्ट बैंकिङको सिईओमा डा.रमेशकुमार भण्डारी नियुक्त

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । कम्पनीले भण्डारीलाई आगामी चार बर्षका लागि उक्त सिईओ पदमा नियुक्त गरेको हो । डा. भण्डारीले पुँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रवन्धकको रुपमा कार्य गरिसकेका छन् । २०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको आरविवि मर्चेन्ट बैकिङको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि आरविवि मर्चेन्ट बैंकिङको सेवा लिन सकिने छ ।

मेगा बैंकको कामु सिईओमा अनुपमा खुञ्जेली नियुक्त

काठमाडौं । मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । गत मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खुञ्जेलीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त खुञ्जेलीले मंसिर २३ गतेदेखि नै बैंकको कार्यभार सम्हालि सकेकी छन् । यसअघि खुञ्जेली मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।