जनता बैंककाे प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त

काठमाडौं । जनता बैंक नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले क्षेत्रीलाई अागामी चार वर्षकाे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको सञ्चालक नारायण प्रसाद घिमिरेले विकासन्युजलाई जानकारी दिए । बुधबार मात्र सो बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले पदबाट राजीनामा दिएका थिए । चार वर्षको लागि नियुक्ती पाए पनि लम्सालले २ वर्ष मात्र काम गरे । बैंकले विहीबार साँझ नयाँ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीलाई स्वागतको साथै पुरानो प्रमुख कार्यकारी अधिकृत लम्साललाई विधाई कार्यक्रम आयोजना गरेको छ । नवनियुक्त क्षेत्रीले यसअघि ग्राण्ड बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंकलाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेपछि क्षेत्रीले सो बैंकबाट राजीनामा दिएका थिए । त्यसअघि उनले बैंक अफ एशिया नेपालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । त्यसअघि उनले सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेको थिए । शंकरदेव क्याम्पसबाट एमबीए गरेपछि उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालबाट बैकिङ करिअर शुरु गरेका थिए ।   ग्राण्ड बैंक छोडेपछि क्षेत्रीले नेपाल बैंकिङ इन्स्टीच्यूटका लगायत संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा काम गर्दै आएका थिए । जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि जनतामा त्रिवेणी विकास बैंक गाभिएको थियो । दुई वटा विकास बैंक गाभेपछि जनता बैंक ठूलो पोर्टफोलियोको बैंक बन्दैछ । यसको चुक्ता पुँजी करिव ६ अर्ब ९१ करोड हुँदै छ भने करिव ६० अर्बको विजनेश पोर्टफोलियो हुँदैछ ।

सिद्धार्थ बैंकको कामु सीईओमा शम्भुनाथ गौतम नियुक्त

शम्भुनाथ गौतम काठमाडौं । सिद्धार्थ बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । जेठ २२ गते बसेको बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत गर्दै गौतमलाई कामु सीईओ नियुक्त गरेको हो । गौतम यसअघि सोही बैंकमा डेपुटी सीईओको जिम्मेवारीमा थिए । उनी सिद्धार्थ बैंक स्थापना भएदेखि नै सेकेण्ड म्यानकाे भूमिकामा थिए । सिद्धार्थ बैंकबाट राजीनामा दिएका भण्डारी कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती पाईसकेको छन् ।

आरएमसी राजेश जस्तापाताको ब्राण्ड एम्बेस्डरमा केकी अधिकारी नियुक्त

काठमाडौं । आरएमसी राजेश रंगीन जस्तापाताको ब्राण्ड एम्बेस्डरमा सुपरिचित चलचित्र नायिका केकी अधिकारी नियुक्त भएकी छन् । सोमबार कम्पनीले आफ्नो ब्राण्ड एम्बेस्डरमा नायिका अधिकारीलाई नियुक्त गरेको हो । राजेश रंगीन जस्तापाताका उत्पादक राजेश मेटलक्राफ्ट्स् प्रा.लि.ले लामो समयदेखि गुणस्तरीय जस्तापाताको उत्पादन तथा विक्री-वितरण गर्दै आएको छ । शुरुमा सादा जस्तापाता उत्पादन गर्दै आएको सो कम्पनीले केही वर्ष अघि देखि रंगीन जस्तापातालाई समेत आफ्नो उत्पादन सृङ्खलामा समावेश गरेको हो । राजेश ब्राण्डको जस्तापाता नेपाली निर्माण सामग्री बजारमा गुणस्तरीय उत्पादनका रुपमा लोकप्रिय रही आएको कम्पनीले जनाएको छ । सादा तथा रंगीन जस्तापाताका अतिरिक्त राजेश मेटल क्राफ्ट्स् प्रा.लि.ले राजेश जीआई पाइप एवं ब्ल्याक पाइप तथा आरएमसी सिमेन्ट प्रा.लि.बाट गुणस्तरीय सिमेन्टको उत्पादन तथा विक्री–वितरण गर्दै आएको छ । यी सबै उत्पादनहरु निर्माण सामग्री बजारमा सुपरिचित ब्राण्डका रुपमा स्थापित भएका छन् ।