सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ नियुक्त
काठमाडौं । सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोबिन्द गुरुङलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको दोस्रो कार्यकाल आगामी साउन १२ गतेबाट सकिने र तेस्रो कार्यकालका लागि महर्जनलाई नियुक्त हुन अदालतको फैसला बाधक हुने भएपछि बैंकले उनलाई विदा गर्ने भएको छ । महर्जन सिभिल बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । त्रिभुवन विश्वविद्यालयबाट २०४९ सालमा एमबीए गरेका गुरुङसँग २१ बैंक विभिन्न बैंकमा काम गरेको अनुभव छ । कामु सीईओ गुरुङ विगत साढे चार वर्षदेखि सिभिल बैंकमा कार्यरत छन् । उनले यसअघि मेघा बैंकमा साढे २ वर्ष, ग्लोबल बैंकमा साढे तीन वर्ष र हिमालयन बैंकमा ११ वर्ष काम गरेका थिए । साउनपछि गुरुङनै सो बैंकको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना रहेको छ । साउन १२ गतेसम्म किशोर महर्जनको कार्यकाल बाँकी नै भएपनि उनी महत्वपूर्ण निर्णयमा सहभागी हुने छैनन् । जिम्मेवारी हस्तान्तरणको कामले कार्यलय गएपनि महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने छैनन् ।
लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ। महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो । यसबाट लोकसेवा आयोगको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ। पदपूर्ति समितिबाट गरिएको निर्णयमा लोकसेवा आयोगका प्रतिनिधिसमेत रहेका पदपूर्ति समितिका अध्यक्ष शिवप्रसाद मुनकर्मी, सदस्य सचिव (महानगरपालिकाका कार्यकारी अधिकृत) ईश्वरराज पौडेलसहित ६ जनाले हस्ताक्षर गरेको भेटिएको छ। गत २९ फागुनमा बसेको महानगरपालिकाको पदपूर्ति समितिले श्रेष्ठलाई प्राविधिक सेवा अधिकृत स्तरको सातौं तहमा बढुवाको सिफारिस गरेको पाइएको हो। तर, उनको नाम भने बढुवाको सूचीमा प्रकाशित गरिएको छैन। श्रेष्ठसँगै बढुवा भएका अन्य कर्मचारीहरूको नामावली भने २९ फागुनकै मितिमा प्रकाशित गरिएको थियो। राजधानी दैनिकबाट ।
महिला नेतृत्वले हाँक्दै मुलुक, राष्ट्राध्यक्ष, संसद र न्यायलयपछि निजी क्षेत्रको नेतृत्वमा पनि महिला
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार महासंघ सचिवालय टेकुमा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यले सपथ ग्रहण गरेका छन् । महासंघको नयाँ कार्यसमितिका लागि मंगलबार निर्वाचन भएको थियो । महासंघको ५२ वर्ष पुरानो इतिहासमा राणाले पहिलो महिला अध्यक्ष हुने सौभाग्य प्राप्त गर्नुभएको हो । महासंघको संशोधित विधानअनुसार उहाँ स्वतः अध्यक्ष हुनुभएको हो । संशोधित विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको छ । उहाँले पदभार ग्रहण गर्दै तीन वर्षे कार्यकालका लागि २६ बुँदे कार्ययोजनासमेत घोषणा गर्नुभयो । उहाँले सबै उद्योगी व्यवसायीलाई एकतावद्ध गरेर आर्थिक समृद्धिका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष राणाले मुलुकको आर्थिक समृद्धिका लागि सरकारसँग सशक्त सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । निवर्तमान अध्यक्ष मुरारकाले अगाडि बढाएका काम कार्यान्वयन गर्ने पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । नेपालबाट वार्षिक साढे चार लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । बिदेसीने युवाशक्तिलाई स्वदेशमै रोक्नका लागि सातवटै प्रदेशमा टेक्निकल स्कुल खोल्न पहल गरिने उहाँको घोषणा छ ।