मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल, जेठदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पोखरेललाई आगामी चार वर्षको लागि बैंकको सीईओको रुपमा नियुक्त गरेको हो । प्रद्युमन पोखरेल, सीईओ, मुक्तिनाथ विकास बैंक नवनियुक्त सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नेछन् । विभिन्न वाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरेका पोखरेल यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर शुरु गरेका थिए । उनले करिब १९ वर्ष नबिल बैंकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । त्यसपछि मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए । यस बैंकको स्थापना कार्यकालदेखि नै सीईओमा भरतराज ढकाल रहेका थिए । ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा समाप्त हुँदै छ । सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेञ्चुरी बैंकको सीईओमा तुलसीराम गौतम नियुक्त
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा तुलसीराम गौतम नियुक्त भएका छन् । फागुन ३० गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गौतमलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ गौतमले २०७५ वैशाख १९ गतेदेखी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् । गौतम अनुभवि बैंकरको रुपमा परिचित व्यक्तित्व हुन् । नेपाल बैंकबाट बैंकिङ्ग सेवा शुरु गरेका गौतमले उक्त कम्पनीमा १३ वर्ष काम गरेका थिए । त्यसपश्चात उनले नेपाल इण्डोसुइज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा सीईओको पदमा ४ वर्ष पूरा गरेका हुन् । गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका छन् । उनको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने बैंकको विश्वास छ ।
स्पर्स लघुवित्तको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त भएका छन् । संस्थाको ३१औँ संचालक समितिको बैठकले गजुरेललाई संस्थाको स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो । गजुरेलले विभिन्न किसिमका बैंक तथा वित्तीय संस्थामा ३८ वर्ष भन्दा बढी लामो अनुभव हासिल गरेका छन् । उनले बैंक अफ सिलोनमा (हालको एनसीसी बैंक) २ वर्ष, कृषि विकास बैंकमा २१ वर्ष तथा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरमा १५ वर्ष व्यवस्थापकीय पदमा रही कार्यगत अनुभव हासिल गरेका थिए । उनले सेभिङ बैंक फाउन्डेशन फर इन्टरनेशनल कोअपरेशन र सहारा बचत तथा ऋण सहकारी संस्था (साकोस) झापाको कन्सलट्यान्टको रुपमा पनि काम गरेका थिए । हाल संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । संस्थाले निकट भविष्यमा २ करोड ४० लाख रुपैयाँको सार्वजनिक निष्कासन गर्ने तयारी गर्दैछ । सार्वजनीक निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी ८ करोड रुपैयाँ पुग्नेछ ।