सिद्धार्थ बैंकको कामु सीईओमा शम्भुनाथ गौतम नियुक्त
शम्भुनाथ गौतम काठमाडौं । सिद्धार्थ बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । जेठ २२ गते बसेको बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत गर्दै गौतमलाई कामु सीईओ नियुक्त गरेको हो । गौतम यसअघि सोही बैंकमा डेपुटी सीईओको जिम्मेवारीमा थिए । उनी सिद्धार्थ बैंक स्थापना भएदेखि नै सेकेण्ड म्यानकाे भूमिकामा थिए । सिद्धार्थ बैंकबाट राजीनामा दिएका भण्डारी कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती पाईसकेको छन् ।
आरएमसी राजेश जस्तापाताको ब्राण्ड एम्बेस्डरमा केकी अधिकारी नियुक्त
काठमाडौं । आरएमसी राजेश रंगीन जस्तापाताको ब्राण्ड एम्बेस्डरमा सुपरिचित चलचित्र नायिका केकी अधिकारी नियुक्त भएकी छन् । सोमबार कम्पनीले आफ्नो ब्राण्ड एम्बेस्डरमा नायिका अधिकारीलाई नियुक्त गरेको हो । राजेश रंगीन जस्तापाताका उत्पादक राजेश मेटलक्राफ्ट्स् प्रा.लि.ले लामो समयदेखि गुणस्तरीय जस्तापाताको उत्पादन तथा विक्री-वितरण गर्दै आएको छ । शुरुमा सादा जस्तापाता उत्पादन गर्दै आएको सो कम्पनीले केही वर्ष अघि देखि रंगीन जस्तापातालाई समेत आफ्नो उत्पादन सृङ्खलामा समावेश गरेको हो । राजेश ब्राण्डको जस्तापाता नेपाली निर्माण सामग्री बजारमा गुणस्तरीय उत्पादनका रुपमा लोकप्रिय रही आएको कम्पनीले जनाएको छ । सादा तथा रंगीन जस्तापाताका अतिरिक्त राजेश मेटल क्राफ्ट्स् प्रा.लि.ले राजेश जीआई पाइप एवं ब्ल्याक पाइप तथा आरएमसी सिमेन्ट प्रा.लि.बाट गुणस्तरीय सिमेन्टको उत्पादन तथा विक्री–वितरण गर्दै आएको छ । यी सबै उत्पादनहरु निर्माण सामग्री बजारमा सुपरिचित ब्राण्डका रुपमा स्थापित भएका छन् ।
कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारी नियुक्त
काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । जेठ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो । भण्डारी यसअघि सिद्धार्थ बैंकमा सिइओ थिए । भण्डारीले नियुक्त भएको दिनदेखि नै बैंकको कार्यभार सम्हाललेका छन् । सिद्धार्थ बैंकमा सिईओ हुनुपूर्व भण्डारी कुमारी बैंकमा नै प्रमुख कार्यकारी अधिकृत थिए । कुमारी बैंकमा करिव २ वर्षदेखि सिईओ पद खाली थियो । यस अवधिमा सो बैंकमा राजीव गिरी कामु सिईओ थिए ।