एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले गौतमलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । गौतमले असार ११ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्ने बताएका छन् । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा पछाडि रहेको र अरु कम्पनीसँग प्रतिस्पर्धामा नरहेको यस कम्पनीलाई प्रतिस्पर्धी बनाउने गौतमले बताए । २६ वर्षसम्म बैकिङ पेशामा क्रियाशिल गौतमको लागि बीमा नितान्त नयाँ पेशा हो । ‘अनुभवको दृष्टिले बीमा मेरो लागि नितान्त नयाँ क्षेत्र हो । मनमा नयाँ कामप्रति उत्सुकता हुनुका साथै सफलता पूर्वक जिम्मेवारी निर्वाह गर्ने चुनौति पनि उत्तिकै छ’ गौतमले विकासन्युजसँग भने-समस्यामा परेको इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक सुधारमा पाएको सफलताले एभेरेष्ट इन्स्योरेन्स कम्पनी पनि सुधार गर्ने आँट र अठौत मसँग छ ।’ नेपाल ग्रिनलेज बैंकबाट बैकिङ पेशामा प्रवेश गरेका गौतमले हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, सनराईज बैंक, एनसीसी बैंक, एनआईसी एशिया हुुँदै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा विलय भएपछि उनी एनसीसी बैंकमा डीजीएम थिए ।
नेपाल व्यवस्थापन संघको कार्यकारी निर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त
काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को कार्यकारी निर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । संघले असार १ गतेदेखि लागु हुने गरि कम्पनीको कार्यकारी निर्देशकमा पौड्याललाई नियुक्त गरेको हो ।
नेपाल एसबिआई बैंकको संचालकमा विजयकुमार त्यागी नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंकको संचालकमा विजयकुमार त्यागी नियुक्त भएका छन् । असार ४ गते बसेको बैंकको संचालक समितिको ४०८औँ बैठकले त्यागीलाई कम्पनीको संचालकमा नियुक्त गरेको हो । यसअघि बैंकको संचालकमा प्रबोध पारिख रहेका थिए । पारिखले असार ४ गतेदेखि नै लागु हुने गरि बैंकको संचालकाे पदबाट राजिनामा दिएका हुन् ।