माछापुच्छ्रे बैंकको कामु सीईओमा अर्जुन थापा
काठमाडौं । माछापुच्छ्रे बैंकको कामु सीईओमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा अर्जुन थापा नियुक्त भएका छन् । फागुन १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकका नायव महाप्रबन्धक थापालाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सोही बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) निरजकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । बैंकले फागुन २३ गतेदेखि लागु हुनेगरी श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । उक्त मिति पश्चात रिक्त हुने यस बैंकको सीईओ पदमा अर्को व्यवस्था नभएसम्मका लागि थापालाई कामु सीईओको जिम्मेबारी दिने कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा गोविन्दलाल संघाई
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गोविन्दलाल संघाई नियुक्त भएका छन् । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संघाईलाई इन्स्योरेन्सको अध्यक्षमा नियुक्त गराएको हो । संघाई यस अघि सोही कम्पनीको संस्थापक समूहतर्फको सञ्चालकको पदमा थिए । साथै, कम्पनीको सोहि दिनको बैठकले पूर्व अध्यक्ष रमेश गुप्ताको राजीनामा स्वीकृत गरेको छ ।
सहयोगी विकास बैंकको सीईओमा विनय रिजाल नियुक्त
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विनय रिजाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले रिजाललाई ४ वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । भारतको पुने युनिभर्सिटीबाट स्नातक गरेका रिजाल यस अघि सिभिल बैंकको क्रेडिट एड्मिनिस्ट्रशन विभाग(सिएडी) को प्रमुखपदमा कार्यरत थिए । विशेषगरी बाणिज्य बैंकहरुमा उनले आफ्नो कार्यअनुभव हासिल गरेका छन् । सिभिल बैंकको अतिरिक्त उनले एनबी बैंकमा लामो समय काम गरेको अनुभव छ । ती बैंकहरुको विभिन्न विभागहरुको उच्चतहमा रहेर उनले काम गरिसकेका छन् । बाणिज्य बैंकहरुको उच्च तहमा समेत रहेर कार्यानुभव हासिल गरेका नवनियुक्त सीईओ रिजालबाट बैंकले अझ प्रगति गर्ने आशा र विश्वास लिएको छ । बैंक व्यवस्थान, सञ्चालन सम्बन्धि विभिन्न किसिमका तालिमहरु समेत लिएका सीईओ रिजालले बैंक वित्तीय क्षेत्रमा २० बर्षे अनुभव बटुलेका छन् । बैंकिङ क्षेत्रको आफ्नो विगतको अनुभवलाई बैंकको हित र प्रगतिकालागि प्रयोग गर्ने उनले बताए । ‘बैंकको ख्यातिलाई थप उचाईमा पुर्याउँदै ग्राहक, सेयरधनीको हित र उन्नतीमा आफ्नो जोड रहनेछ ।’ प्रमुख कार्यकारी अधिकृत रिजालले भने– ‘त्यसका लागि म अहोरात्र खटिरहने छु ।’ उनले बैंकिङ क्षेत्रमा देखिएको वर्तमान चुनौतिलाई अवसरमा परिणत गरेर देखाईदिने बताएका छन् ।