सिटिजन्स बैंकको कामु कार्यकारी प्रमुखमा गणेशराज पोखरेल, भण्डारी प्रमुख सल्लाहकार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल भएका छन् । मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे हाे । प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल पुस १६ गते समाप्त हुने भएको र उनी पुस १ गतेबाट विदामा बसेकाले अर्को व्यवस्था नभए सम्मका लागि पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । साथै, सेवा निवृत भएका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलाई पुस १७ गतेबाट लागु हुने गरि बैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
एनएमबि माइक्रोफाइनान्सको निमित्त सीईओमा रामप्रसाद मिश्र
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको निमित्त प्रमुअ कार्यकारी अधिकृत(सीईओ)मा रामप्रसाद मिश्र नियुक्त भएका छन् । हालै बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको सहायक महाप्रबन्धक मिश्रलाई माइक्रोफाइनान्सको निमित्त सीईओमा नियुक्त गरेको हो । संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीको असामाहीक निधन भएकाले समितिले मिश्रलाई निमित्त सीईओको जिम्मेवारी दिइको हो । गम्भीर बिरामी सीईओ चौधरीको अस्पतालमा उपचारको क्रममा गत मंसिर २६ गते निधन भएको हो ।
कालिका लघुवित्तका अध्यक्ष बासुदेव पौडेलद्धारा सपथ ग्रहण
काठमाडौं । स्याङ्जाको वालिङ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखरा निर्देशक पोमनाथ गौतम समक्ष अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सञ्चालक समितिमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडयालले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समिति सदस्य बासुदेव पौडेल सर्वसम्मत चयन भएका हुन् । आगामी साधारण सभा सम्मको लागि पौडेल अध्यक्षको रुपमा चयन भएका हुन् । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा सपथ ग्रहण भएको प्रमुख कार्यकारी अधिकृत मिन बाहोराले बताए ।