१ करोड ९५ लाख प्रयोगकर्ता भएकाे टेलिकम हाँक्ने जिम्मा डिल्लीराम अधिकारीलाई

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । संगीता पहाडी अर्याल, र बुद्धिप्रसाद आचार्यलाई पछि पार्दै अधिकारीले टेलिकम हाँक्ने जिम्मा पाएका हुन् । अधिकरी हाल टेलिकममै दशौं तहमा कार्यरत थिए । अधिकारीले प्रबन्ध निर्देशकको जिम्मा पाएको अधिकारी निकट स्रोतले पुष्टि गरेको छ । प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी आचार्य गरी ११ जनाले निवेदन दिएका थिए । यी मध्ये ३ जनाको नाम मन्त्री परिषदमा पेश भएको थियो । सञ्चार तथा सूचना मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी थिइन् । समितिले आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले अधिकरीलाई टेलिकम हाक्ने जिम्मा दिने तयारी गरेकाे हो। गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि सो पद रिक्त रहको छ । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कूल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि नेपाल टेलिकम प्रमुख कार्यकारी नहुँदा दैनिक प्रशासनिक कार्यमा समेत असर परेको स्रोतको दाबी छ ।

रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित, यस्तो छ नयाँ नेतृत्व

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीबार राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डनलाई उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल महासचिवमा निर्वाचित गरेको छ । सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्ष, आइपे रेमिटका इन्द्र शर्मा सचिव चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिकं) चुनिएका छन् । विधानअनुसार निवर्तमान अध्यक्ष दिवाकर थापा कार्यसमितिमा रहनेछन् । कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

आरम्भ माइक्रोफाइनान्सको सिइओमा पवनकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही पुस १९ गते बसेको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । बुटवल–६ रुपन्देही निवासी श्रेष्ठलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरिएको कम्पनी सचिव सुवासमणी बस्तोकोटीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ । श्रेष्ठको कार्यकाल आगामी माघ ७ गतेदेखि लागु हुने जनाइएको छ ।