नेपाल एसबीआई बैंकको अध्यक्षमा बिआरएस सत्यनारायण चयन

काठमाडौँ । नेपाल एसबीआई बैंक संचालक समितिको असार १९ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक बिआरएस सत्यनारायणलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । अध्यक्ष बिआरएस सत्यनारायण, एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्षसत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा विहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः रतनलाल केडिया चयन

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको १४९ औं बैठकले अध्यक्षमा पुनः रतनलाल केडियालाई चयन गरेको छ । असार १३ गते सम्पन्न कम्पनीको १७औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरु निर्वाचित गरेको थियो । साधारण सभाले रतनलाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालकमा निर्बिरोध निर्वाचित गरेको थियो ।

हिमालयन जनरल इन्स्योरेन्सको सिइओमा बज्राचार्य, दोश्रो कार्यकाल साउन १ बाट

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा पुनः सुशील बज्राचार्य चयन भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले बज्रचार्यलाई दोश्रो कार्यकालका लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जनाएका छन् । बज्राचार्यको दोश्रो कार्यकाल साउन १ गतेदेखि ४ वर्षको लागि हुनेछ ।