स्मार्ट टेलिकममा मेरो सेयर लगानी छैन, सापटी मात्र दिएको हुँ : महतो

काठमाडौं । व्यवसायी डा. उपेन्द्र महतोले स्मार्ट टेलिकम प्रालिमा आफ्नो सुरुदेखि हालसम्म कुनै सेयर लगानी नरहेको दाबी गरेका छन् ।  उनले विदेशी लगानी स्वीकृति नलिई आफूले विदेशबाट कुनै रकम नेपाल नल्याएको पनि दावी गरेका छन् । स्मार्ट टेलिकमसम्बन्धी बयानका क्रममा महतोले अजेय राज सुमार्गी पराजुलीलाई जग्गा खरिद तथा सिमेन्ट कारखाना सञ्चालनका लागि आवश्यक रकम भन्दै पटक–पटक गरी करिब एक अर्ब रुपैयाँ सापटी दिएको बताएका छन् ।  उक्त रकममध्ये केही फिर्ता भइसकेको र केही रकम फिर्ता हुन बाँकी रहेको उनको भनाइ छ । सतिसलाल आचार्य र सचिनलाल आचार्यसँग आफ्नो कुनै कारोबार नरहेको महतोले बताएका छन् । भावना सिंह श्रेष्ठसँग पनि कम्पनीमार्फत कुनै कारोबार नभएको उनको दाबी छ । अजेय राजसँग सन् २००४ मा काठमाडौंमा भएको एनआरएन सम्मेलनमा तथा सतिसलाल आचार्यसँग सन् २००८ तिर सिंगापुरमा भएको एनआरएन सम्मेलनमा चिनजान भएको उनले बयानका क्रममा बताएका छन् । महतोले सन् २००५ तिर हालको एनसेल आजियाटा लिमिटेडको साविक स्पाइस नेपाल प्रालि (मेरो मोबाइल) मा राज समूहबाट २० प्रतिशत सेयर खरिद गरेको र पछि उक्त सेयर निरज गोविन्द श्रेष्ठलाई बिक्री गरेको उल्लेख गरेका छन् । उक्त लगानी नेपाल सरकारबाट विदेशी लगानी स्वीकृति लिएर वैधानिक बैंकिङ प्रणालीमार्फत गरिएको उनको दाबी छ । नेपाल स्याटेलाइट तथा अन्य दूरसञ्चार कम्पनीमा आफ्नो सेयर लगानी नरहेको उनले बताएका छन् । भावना सिंह श्रेष्ठको नामबाट आफ्नो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा १ अर्ब ५० करोड रुपैयाँ आएको र उक्त रकम एनसेल आजियाटाबाट प्राप्त लाभांश भएको मौखिक जानकारी आफूलाई दिइएको महतोले बयानमा उल्लेख गरेका छन् । रकमको स्रोत पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित व्यक्तिहरूकै भएको उनको भनाइ छ । उनका अनुसार आफू एकल सञ्चालक रहेको एमजी हर्बल एन्ड इन्भेष्टमेन्ट प्रालिबाट रियल इस्टेट व्यवसायका लागि रकम स्थानान्तरण गरिएको थियो । आफ्नो साथी कजाकस्तानी नागरिक बाउर्जानको आग्रहमा सोही कम्पनीमार्फत स्मार्ट टेलिकमलाई सापटी दिएको र उक्त रकम स्मार्ट टेलिकमले फिर्ता गरिसकेको उनले बताएका छन् ।  एनसेल आजियाटाले स्मार्ट टेलिकम प्राप्त गर्ने उद्देश्यले केपीएमजी भारतमार्फत ड्यु डिलिजेन्स अडिट गराएको र त्यसको प्रतिवेदनमा एमजी हर्बलको नाममा २ करोड रुपैयाँ लगानी देखाइएको विषयमा आफूलाई जानकारी नभएको महतोको दाबी छ । एमजी हर्बलले स्मार्ट टेलिकमलाई १९ करोड रुपैयाँ सापटी दिएकोमा २२ करोड रुपैयाँ फिर्ता भएको विषयमा समेत उनले बयान दिएका छन् । स्मार्ट टेलिकमलाई रकम दिँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे वा बैंकका सञ्चालकहरूसँग आफूले सम्पर्क नगरेको महतोको दावी छ । पाण्डे दुबई गई बुरुन्डीस्थित आफ्नो व्यावसायिक साझेदार रोमियो अब्दोलाई भेटेर स्मार्ट टेलिकमको कर्जाको किस्ता तिर्न रकम व्यवस्थापन गरेको भन्ने विषयमा समेत आफूलाई जानकारी नभएको पनि उनले बताएका छन् । साइप्रसमा दर्ता भएको डेल्टा ट्रेडिङ लिमिटेड र टाइमटर्न्स होल्डिङ्समा आफ्नो लगानी रहेको महतोले स्वीकार गरेका छन् । टाइमटर्न्स होल्डिङ्सबाट भुपेन्द्र भण्डारीको नबिल बैंक खातामा रकम भुक्तानी भएको विषयमा भने आफूलाई यकिन सम्झना नभएको उनले बताएका छन् ।  स्मार्ट टेलिकम बुरुन्डीमा आफ्नो समेत लगानी रहेको र भण्डारीले त्यहाँ करिब आठ वर्ष प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेको पनि उनले उल्लेख गरेका छन् । स्मार्ट टेलिकमको ड्यु डिलिजेन्स अडिटमा ‘डाइरेक्टरबाट प्राप्त अग्रिम’ शीर्षकमा २८ करोड तथा नेपाल स्याटेलाइट टेलिकमको नाममा ९७ करोड रुपैयाँ उल्लेख भएको र उक्त कम्पनीको अन्तिम हिताधिकारी सतिसलाल आचार्य रहेको विषयमा आफूलाई जानकारी नभएको महतोको भनाइ छ । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भई २०८० वैशाख ३ गतेदेखि कानुनबमोजिम नेपाल सरकारको स्वामित्वमा आएको कम्पनीका टावरलगायत सम्पत्ति एनसेल आजियाटा लिमिटेडले ४ अर्ब ६० करोड रुपैयाँमा लिलाम सकार गरेको र त्यसमा मिलेमतो, ठगी तथा आपराधिक विश्वासघात भएको भन्ने विषय आफूले सञ्चारमाध्यमबाट समाचार आएपछि मात्र थाहा पाएको महतोले बताएका छन् । त्यसैगरी एनसेलको सेयर वास्तविक मूल्यभन्दा अस्वाभाविक रूपमा कम मूल्याङ्कन गरी बिक्री–वितरण गरेर नेपाल सरकारलाई ठगी गरिएको भन्ने समाचार पनि सञ्चारमाध्यमबाट आएपछि मात्र आफूले थाहा पाएको उनले बयानमा उल्लेख गरेका छन् ।

पुजारीसमेत मिलेर मन्दिरको ३६ लाखको जग्गा व्यक्तिको नाममा, ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको तत्कालीन धरान नगरपालिकाका गणेश प्रसाद खतिवडासहित ९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सुनसरीको धरानस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा विभिन्न पदमा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिको हकमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार साविक भादगाउँ सिनवारी गाविस–४क का कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा गलत विवरण र प्रतिवेदनका आधारमा व्यक्तिको नाममा नामसारी गरिएको थियो । उक्त दुवै जग्गा नरसिंह भगवान मन्दिरको नाममा कायम थिए । अनुसन्धानका क्रममा साविक सिंगिया गाविस र धरान नगरपालिका–१४ को वडा कार्यालयबाट गलत व्यहोरा उल्लेख भएको सर्जमिन मुचुल्का तथा नाता प्रमाणित प्रमाणपत्र तयार गरी जग्गा नामसारीका लागि मालपोत कार्यालय, सुनसरीमा सिफारिस गरिएको आयोगले जनाएको छ । मालपोत कार्यालय, सुनसरीले २०६५ जेठ २१ गते नामसारी गर्ने निर्णय गरेपछि मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा तत्कालीन पुजारी टिर्रु चौधरीको नाममा दर्ता कायम गरिएको थियो । आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ को न्यूनतम मूल्याङ्कनअनुसार उक्त सार्वजनिक जग्गाको मूल्य ३६ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त जग्गा पछि बिक्रीसमेत गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । यस प्रकरणमा तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, साविक सिंगिया गाविसका तत्कालीन अध्यक्ष/सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशील वैद्य, शाखा अधिकृत तुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आले, मन्दिरका तत्कालीन पुजारी टिर्रु चौधरी र स्थानीय जग्गा कारोबारी पंकज घिमिरेविरुद्ध आरोपपत्र दायर गरिएको हो । आयोगले खतिवडा, दाहाल तथा मालपोत कार्यालयका कर्मचारीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी तथा गलत प्रतिवेदन दिएको आरोपमा ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । सिंगिया गाविसका तत्कालीन अध्यक्ष/सचिव दाहालले जग्गा नामसारीका लागि कागजात मिलाउन सहयोग गरेबापत पुजारी चौधरीबाट ५ हजार रुपैयाँ घुस लिएको समेत अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । पुजारी चौधरी र जग्गा कारोबारी घिमिरेलाई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गर्ने कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ। चौधरीले दाहाललाई ५ हजार रुपैयाँ दिएकोसमेत आयोगले जनाएको छ । त्यस्तै, हाल भागमैन थरूनीको नाममा दर्ता कायम भई भोगचलनमा रहेको उक्त जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गरी पुनः नरसिंह भगवान मन्दिरको नाममा कायम गर्न आयोगले मागदाबी गरेको छ । आयोगले सार्वजनिक सम्पत्ति संरक्षणका लागि जिम्मेवार पदाधिकारी तथा कर्मचारीले गलत प्रतिवेदन र कागजातका आधारमा सार्वजनिक जग्गा व्यक्तिको नाममा सार्ने कार्य गरेको निष्कर्षसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

चोरी भएका ५० मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपांग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले खोजतलास गरी फेला पारेका ३० वटा मोटरसाइकल र २० वटा स्कुटर बिहीबार सम्बन्धित धनीलाई बुझाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ती सवारीसाधन धनीलाई हस्तान्तरण गरेका हुन् । प्रहरीका अनुसार कार्यालयमा प्राप्त निवेदन तथा अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्ने क्रममा ती सवारीसाधन फेला परेका हुन् । केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्थामा भेटिएका थिए । नेपालटार, थानकोट, बलम्बु, सातदोबाटो, नरेफाट, मुलपानी, सिंहदरबार, काँडाघारी, नयाँबसपार्क, टोखा, जोरपाटी, बौद्ध, कपन र गोकर्णलगायतका स्थानबाट चोरी भएका सवारीसाधन फेला पारिएको प्रहरीले जनाएको छ । बिहीबार हस्तान्तरण गरिएका ५० वटासहित साउन महिनामा मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ८२ वटा चोरी भएका सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । त्यस्तै, चोरीका सात वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ । सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । सवारीसाधन चोरी तथा हराउनबाट रोक्न सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले आग्रह गरेको छ । ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ । साथै, मानिसको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न र जिपिएस जडान गर्नसमेत आग्रह गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न आग्रह गरेका छन् । नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिनसमेत सकिने उनले बताएका छन् ।