काठमाडौं । मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानि गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार उनीहरूमाथि गैरकानुनी लाभ वा हानि पुर्याउने, गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोप छ । आयोगका अनुसार मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतराजकान्त मिश्र छन् ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसुरमा ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ । आयोगले सोही ऐनबमोजिम कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार भूमि सम्बन्धी ऐन, २०२१ लागू हुनुअघि रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायत वडा नं. ९(ख) मा रहेका कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२ र ९४ का जग्गा सूर्जा मिश्राइनको जोतभोगमा थिए ।
ती जग्गाको ७ नम्बर फाँटवारीमा सरकारले तोकेको हदबन्दीभन्दा बढी भएको जग्गा कालीजी मन्दिरलाई दान दिएको हुँदा छाडेको भन्ने स्पष्ट उल्लेख रहेको आयोगले जनाएको छ । त्यस्तै, २०२६ सालको सर्भे नापीमा समेत उक्त कित्ताका जग्गा कालीजी मन्दिरलाई दान दिइएको देखिएको आरोपपत्रमा उल्लेख छ ।
आयोगका अनुसार ती जग्गामा हालसमेत कालीजी र शिवजीका मन्दिर रहेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं. १० का स्थानीयले परापूर्वकालदेखि नै मन्दिरमा पुजारी राखी दैनिक पूजापाठ गर्दै आएका छन् । तर, हदबन्दीका कारण सरकारको मापदण्डभन्दा बढी भएको भन्दै मन्दिरलाई दान गरिएका ती जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरिएको आयोगको आरोप छ ।