बजेटको परिणाममुखी कार्यान्वयनमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्यः अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास, औद्योगिक रूपान्तरण र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।  परिसंघद्वारा आयोजित ‘सीएनआई बजेट वाच’ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सरकारले ल्याउने वार्षिक बजेट केवल आय-व्ययको विवरण मात्र नभई मुलुकको आर्थिक दिशा र मार्गचित्र भएकाले यसको वास्तविक सफलता प्रभावकारी कार्यान्वयनमा नै निर्भर रहने स्पष्ट पारे ।  अध्यक्ष पाण्डेका अनुसार विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहेको, बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भएको र ब्याजदर एकल अङ्कमा झरेको भए पनि बजारमा समग्र माग अझै विस्तार हुन सकेको छैन ।  अहिलेको मुख्य चुनौती आर्थिक गतिविधिलाई चलायमान बनाउनु रहेको औँल्याउँदै उनले त्यसका लागि पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन, पूर्वाधार निर्माणमा तीव्रता, सार्वजनिक खर्चको गुणस्तर सुधार र निजी लगानी प्रवर्धन गर्ने अनुकूल वातावरण आवश्यक रहेको बताए ।  विगतमा उत्कृष्ट नीतिहरू घोषणा भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम प्राप्त हुन नसकेको भन्दै उहाँले अब घोषणाहरूलाई परिणाममुखी कार्यान्वयनमा बदल्नुपर्नेमा जोड दिए । बजेटमा समावेश निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन स्थिति मूल्यांकन गर्न, अवरोध पहिचान गर्न र समाधानका उपाय सुझाउन परिसंघले आर्थिक वर्ष २०७९/८० देखि निरन्तर ‘सीएनआई बजेट वाच’ सञ्चालन गर्दै आएको जानकारी उनले दिए ।  यस वर्ष परिसंघले पहिचान गरेका विभिन्न बुँदाहरूलाई क्षेत्रगत रूपमा वर्गीकरण गरी आगामी दिनहरूमा मन्त्रालयगत उच्च अधिकारीहरू, विज्ञ र सरोकारवालाहरूसँग शृङ्खलाबद्ध संवाद कार्यक्रम सञ्चालन गरिनेछ । यसैबीच, परिसंघले नेपाललाई ‘१०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र’ बनाउने सम्भावनावारे विस्तृत अध्ययन सम्पन्न गरेको र उक्त प्रतिवेदन चाँडै सार्वजनिक गरिने अध्यक्ष पाण्डेले घोषणा गरे ।  उत्पादन, ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधारजस्ता क्षेत्रमा तीव्र सुधार र लक्षित लगानीमार्फत मुलुकले द्रुत आर्थिक रूपान्तरण हासिल गर्न सक्ने उनको भनाइ थियो। कार्यक्रममा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू, उच्च सरकारी अधिकारी, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का प्रतिनिधि तथा उद्योगी-व्यवसायीहरूको उपस्थिति रहेको थियो । 

कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विद्यमान कारागार ऐनलाई समयसापेक्ष बनाउन सरकारले संशोधन प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले कारागार सुधार र कैदीबन्दीका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताए । गृहमन्त्री गुरुङले वि.सं. २०१९ को कारागार ऐनलाई २०७९ मा संशोधन गरिए पनि त्यो अझै पर्याप्त र समयसापेक्ष नभएको उल्लेख गरे । प्राप्त प्रतिवेदन र संसदीय समितिका सुझावका आधारमा ऐनलाई पुनः संशोधन गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले जानकारी दिए । कारागारको विद्यमान अवस्थाबारे चर्चा गर्दै उनले देशभरका कारागारमा १९ हजारको क्षमता भए पनि करिब २८ हजार कैदीबन्दी रहेको बताए । कैदीबन्दीको चाप व्यवस्थापन गर्न विभिन्न स्थानमा भौतिक संरचना निर्माण, डीपीआर तयारी तथा बजेट विनियोजनका काम भइरहेको उनको भनाइ छ । कारागारभित्रको आन्तरिक प्रशासनमा हुने ‘नाइके, भाइ नाइके र चौकीदार’ नियुक्ति प्रक्रियामा विगतमा अपारदर्शिता रहेको स्वीकार गर्दै गृहमन्त्रीले हाल उक्त नियुक्ति प्रक्रिया रोकिएको बताए । अब चौकीदार नियुक्तिका लागि योग्य व्यक्तिले सीभीसहित आवेदन दिनुपर्ने र पारदर्शी रूपमा उत्कृष्ट व्यक्ति छनोट गर्ने व्यवस्था लागू गर्न कारागार व्यवस्थापन विभागलाई निर्देशन दिइएको उनले जानकारी दिए । विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने विषयमा बोल्दै गृहमन्त्रीले ‘नेपाल सरकार वादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका, २०६६’ को दफा ८ बमोजिम समिति गठन गरिएको बताए । निर्दोष व्यक्तिहरू अन्यायमा नपरून् र शक्तिको दुरुपयोग नहोस् भन्ने उद्देश्यले मुद्दा फिर्ताको प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाइएको उनको तर्क छ । यद्यपि जघन्य अपराधमा संलग्न व्यक्तिका हकमा कुनै पनि छुट नहुने उनले स्पष्ट पारे । उनले भने, ‘हाम्रो कारागार ऐन २०१९ सालको हो, जसमा पछिल्लो पटक २०७९ सालमा संशोधन गरिएको थियो। तर त्यो संशोधनले पनि ऐनलाई पूर्ण रूपमा समयसापेक्ष बनाउन नसकेको महसुस भएको छ । त्यसैले हामीले यस विषयमा एउटा प्रतिवेदनसमेत तयार पारेका छौँ ।’ ‘माननीयज्यूहरू र सम्बन्धित समितिका सुझावसँगै उक्त प्रतिवेदनलाई समेत आधार बनाएर कारागार ऐन पुनः संशोधन गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राख्ने निर्णय गरेको छ,’ उनले भने, ‘कारागारसम्बन्धी कानूनलाई अझ आधुनिक, व्यावहारिक र समयसापेक्ष बनाउन आवश्यक छ । भर्खरै कारागार नियमावली पनि संशोधन भएको छ, अब ऐनलाई पनि सोहीअनुरूप सुधार गर्दै अघि बढ्नुपर्छ ।’ आर्थिक रूपमा कमजोर कैदीबन्दीका लागि वैतनिक वकिलमार्फत निःशुल्क कानुनी सहायता उपलब्ध गराइँदै आएको उनले बताए । साथै, ‘कैद कट्टा नियमावली, २०७६’ संशोधनका लागि मन्त्रिपरिषद्मा पेस गरिसकिएको पनि उनले समितिलाई जानकारी दिए । बैठकमा गृहमन्त्री गुरुङले यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुखप्रति लक्षित व्यवहार तथा टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरे । आरोप लाग्दैमा कसैको चरित्र हत्या गर्न नहुने भन्दै उनले उजुरीकै आधारमा दोषी करार गर्नु गलत भएको टिप्पणी गरे । प्रहरी नेतृत्व र कर्मचारी सरकारको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिरहेको भन्दै उनीहरूको मनोबल गिराउने काम नगर्न उनले आग्रह गरे । गृहमन्त्री गुरुङले संसदीय समितिका रचनात्मक सुझावलाई सरकारले सधैँ स्वागत गर्ने बताए । कारागार सुधारको ऐतिहासिक अवसरलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो भनाइ टुङ्ग्याए  ।

देउवाको नेतृत्वमा कांग्रेस अगाडि बढ्छ : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एकीकृत भएको खण्डमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् । सम्बोधनका क्रममा डा. कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गरे । बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले बनारसमा रहँदाका स्मृतिहरू साझा गरे । बीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यस क्रममा हेरिएका चलचित्रका बारेमा देउवाले देखाएको सूक्ष्म र हुबहु विश्लेषणबाट आफू प्रभावित भएको कोइरालाले बताए । पार्टीको ऐतिहासिक कालखण्डको चर्चा गर्दै डा. कोइरालाले भने, ‘लोकतन्त्रको आगमनपछि तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लन्डनबाट फर्किएलगत्तै शेरबहादुरजी प्रधानमन्त्री बन्नुभयो । उहाँ अत्यन्त भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ । शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ ।’ संस्थापन इतर समूहको भेला भए पनि डा. कोइरालाले देउवाको नेतृत्वप्रति पूर्ण समर्थन व्यक्त गरे । देउवाको उपस्थितिले नै कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमायाचना समेत गरे । उनले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिए ।