कोरला नाकाबाट भित्रिए २ हजार ९९७ वटा ईभी, ६.६६ अर्ब राजस्व संकलन
काठमाडौं । मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल-चीन) उत्तरी कोरला नाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारी बापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो । कोरला नाका हुँदै चीनबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरका माल वस्तु भित्रिएकाे भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिए । उनका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल पैठारी गरिएका विद्युतीय सवारी (ईभी) गाडी लगायत चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक सामानलगायत सामानको पैठारी बापत उक्त भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुँडालले उल्लेख गरे । यसैगरी, नेपालबाट कोरला नाका हुँदै चीनतर्फ निकासी गरिएका माल वस्तुबाट २० करोड ५५ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको प्रमुख चुँडालको भनाइ छ । नेपालबाट हस्तकलाका सामान र नेपाली उत्पादनलगायत सामग्री चीनतर्फ निकासी भएको हो । नेपाल-चीन उत्तरी कोरला नाकाबाट गत भदौदेखि १६ जेठसम्म २ हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । चीनबाट कोरला नाका हुँदै भन्सार जाँच पास भई नेपाल भित्रिएका विद्युतीय सवारी (ईभी) गाडीको पैठारी बापत ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको हो । पछिल्लो समय गत जेठको दोस्रो साता चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रिया विवादमा परेको छ । कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँच पास भइसकेको जनाइ पनि सरकारले यसलाई अनुसन्धानको घेरामा तानेको हो । सरकारले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत रहे/नरहेको यकिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विद्युतीय सवारीसाधनको अनुगमन गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
११ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न नीतिगत प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
सिमकोट । यहाँको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ०-५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नाम्खा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सागर लामाले जानकारी दिए । सरोकार भएकाहरूको समन्वय र मातहतका स्वास्थ्य संस्थाहरूको सक्रियतामा मापदण्डअनुसार छ वटै वडाका लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिएपछि यस्तो घोषणा गरिएको उनले बताए । 'गाउँपालिकाभित्रका सबै ०–५९ महिनाका बालबालिकाले नियमित खोप प्राप्त गरेपछि विभिन्न चरणको प्रमाणीकरण प्रक्रिया पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो', लामाले भने । गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र उपलब्धि नभएकाले अब यसको दीगोपनामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले आगामी दिनमा पनि सबै सरोकार भएका निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको सहकार्य जरुरी रहेको बताए । गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले विगतको तुलनामा अभिभावकमा स्वास्थ्यसम्बन्धी चेतना वृद्धि भएकाले बालबालिकालाई नियमित खोप लगाउने दरमा उल्लेखनीय सुधार आएकाले पूर्ण खोप सुनिश्चितता अभियान सफल भएको बताए ।