काठमाडौं । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसरका, काठमाडौं अगाडि धर्ना दिएको छ ।
महासंघले बिहीबार श्रेष्ठको रिहाइको माग गर्दै प्रहरी परिसर अगाडि धर्ना दिएको हो ।
प्रहरीले पत्रकार श्रेष्ठलाई बुधवार राती ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरि काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको छ ।
महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएका हुन् । उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन् ।
धर्नामा सहभागीहरूले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ।
पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासंघको भनाइ छ । पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ ।






