काठमाडौं । चितवन को–ई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख रुपैयाँ र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ गरी कुल १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका हुन् ।
ग्रुपका अनुसार हालै आएको बाढीपहिरोबाट देशभरका विभिन्न परिवार तथा समुदायमा ठूलो क्षति पुगेको भन्दै उद्धार, राहत तथा पुनर्निर्माणका लागि उक्त सहयोग गरिएको हो । ग्रुपले बाढीपहिरोका कारण प्रियजन, घरबार तथा जीविकोपार्जन गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।
चितवन को–ई ग्रुपले आफ्नो जरा चितवन, गोरखा तथा आफूले कार्य गर्दै आएका आसपासका क्षेत्रसँग जोडिएको उल्लेख गर्दै विपद्का बेला छिमेकी, साझेदार र समुदायको सदस्यका रूपमा सहयोग गर्नु आफ्नो दायित्व भएको जनाएको छ ।
ग्रुपले आफ्ना स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको समुदाय र देशप्रतिको उत्तरदायित्वलाई मूल सिद्धान्तका रूपमा आत्मसात् गर्दै सहयोगलाई निरन्तरता दिइरहेको जनाएको छ ।
ग्रुपका अनुसार उक्त योगदानले तत्कालीन राहत, प्रभावित परिवारको पुनःस्थापना तथा समुदायको पुनर्निर्माणका लागि भइरहेका प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, विपद्बाट प्रभावित परिवार तथा उद्धार कार्यमा खटिएका सबैप्रति सहानुभूति व्यक्त गर्दै ग्रुपले ‘एकताको बलमा, हामी सँगै पुनर्निर्माण गर्नेछौँ’ भन्ने प्रतिबद्धता जनाएको छ ।