एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा ओली स्वयं सहभागी
काठमाडौं । नेकपा एमालेले गठन गरेको पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली स्वयं सहभागी भएका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे बहस चलिरहेका बेला ओलीको कार्यदल बैठकमा उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा मंगलबार सुरु भएको बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा सहित उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा तथा महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू सहभागी छन् । एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार कार्यदलले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्नेछ । उनका अनुसार कार्यदलले संगठन सुदृढीकरण, रूपान्तरण तथा पार्टी संरचनालाई समयानुकूल बनाउने विषयमा अध्ययन गरी आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ । एमालेले पछिल्लो समय देखिएका राजनीतिक तथा संगठनात्मक चुनौतीहरूको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने लक्ष्यसहित उक्त कार्यदल गठन गरेको हो । पहिलो बैठकले कार्यदलको कार्यविधि, प्राथमिकता र आगामी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।
महावीर पुनलाई विज्ञान प्रविधि मन्त्री बनाउने तयारी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारमा स्वतन्त्र सांसद महावीर पुनलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरिएको छ । बालुवाटार उच्च स्रोतका अनुसार सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको हो । वैज्ञानिक तथा अनुसन्धानकर्ताको पहिचान बनाएका पुनलाई उनकै विज्ञता सुहाउँदो मन्त्रालयको जिम्मेवारी सुम्पिने तयारी प्रधानमन्त्री शाहले गरेका हुन् । यद्यपि उनको नियुक्ति र शपथ ग्रहणको मितिबारे सरकारले औपचारिक घोषणा गर्न भने बाँकी नै रहेको स्रोतले जनाएको छ । वर्तमान प्रतिनिधि सभामा स्वतन्त्र सांसदको भूमिकामा रहेका पुन यसअघि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनिसकेका अनुभवी व्यक्तित्व हुन् । यता सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहण आजै हुने तय भएको छ । यसका लागि दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ समारोहको तयारी गरिएको छ । यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो ।
सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने, आजै शपथ
काठमाडौं । सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहण आजै हुने तय भएको छ । यसका लागि दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ समारोहको तयारी गरिएको छ । यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो । छानबिन समितिले गुरुङलाई आरोपबाट मुक्त गर्दै प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्काउने निर्णय गरिएको स्रोतले जनाएको छ ।