लागुऔषधसहित २८ जना पक्राउ

काठमाडौं ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ । उनीहरूलाई काठमाडौं, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरबाट शुक्रबार र आज पक्राउ गरिएको हो ।  पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।  

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार  सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका  उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राईलाई पक्राउ गरिएको हो ।  प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट ७ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका-२, धनबहादुरलाई तारकेश्वर नगरपालिका-८, उमेशलाई टोखा नगरपालिका-५, सचितालाई काठमाडौं महानगरपालिका-३ र निरोजलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु

काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक (न्यू मर्स्याङ्दी सबस्टेसन) देखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने क्रममा मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माण हुन नसक्दा लामो समयदेखि लाइन सञ्चालनमा आउन सकेको थिएन । गत असार ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले स्थलगत निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजनाका जिम्मेवार अधिकारीबीच समन्वय गरी निर्माणमा देखिएको अवरोध हटाउन पहल गरेका थिए । त्यसलगत्तै टावर निर्माण कार्य तीव्र रूपमा अघि बढ्दै सम्पन्न भएपछि प्रसारण लाइन सञ्चालनमा आएको हो । प्रसारण लाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्यामा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ । साथै, विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै विद्युत् आपूर्तिको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ । ऊर्जा मन्त्री श्रेष्ठले बर्खायाममा मर्स्याङ्दी करिडोरका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताए । यसअघि प्रसारण क्षमताको अभावका कारण कम क्षमतामा सञ्चालन गर्नुपर्ने जलविद्युत् आयोजनाहरूलाई पनि अब राहत पुग्ने उनको भनाइ छ । उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने उल्लेख गर्दै यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षा सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो । आयोजना सञ्चालनमा आएपछि मर्स्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह भई देशको विद्युत् प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।